‘चोर भइस भने पनि चोरकै सरदार हुनू,’ कुलबहादुर श्रेष्ठ आफ्ना छोरालाई यसै भन्थे।
उनका छोरा कल्याण श्रेष्ठ चोरलाई सजाय दिने निकायको ‘सरदार’ भएका छन्।
श्रेष्ठकी आमाको पनि सपना थियो रे-छोरो प्रधानन्यायाधीश बनोस्।
‘सरदार’ हुनु चानचुने कुरा होइन सम्पूर्ण ‘समूह’को संरक्षण र जिम्मेवारी लिने आँट हुनुपर्छ, ‘दोष’को पनि र ‘जस’को पनि।
अबको ९ महिना श्रेष्ठ न्यायालयको सर्वोच्च पदमा हुनेछन्। जस र अपजसको भागि हुनेछन्।
संवैधानिक परिषदले प्रधानन्यायाधीशको रूपमा संसदीय सुनुवाईका लागि सिफारीस गरिसकेपछि मैले बधाई दिँदा उनले भनेका थिए, ‘मेरा लागि यो अवसर मात्रै होइन,चुनौति हो।’
संक्रमणमा गुज्रीएको देश जस्तै हाम्रो न्यायालय पनि नायकको पर्खाइमा छ, खोजीमै छ।
आफूलाई नायक बनाउने वा नबनाउने श्रेष्ठकै कार्यशैलीमा भरपर्छ। शायद उनले यसैलाई चुनौतिको रूपमा लिएका होलान्।
यो कुर्चीबाट उनले चोरलाई सजाय र निर्दोषलाई न्याय मात्र होइन चुस्त न्यायालयका लागि चाँजो मिलाउन धेरै अरु कामसमेत गर्नुपर्ने छ।
‘भ्रष्टाचारले थिलथिलो बनेको न्यायलयलाई सुधार्ने छु’ भन्ने वचन दिएका उनका केही अग्रजहरुले आफ्नो बोलीको लाज पनि नराखि गएका छन्। अग्रजले गुमाएको न्यायलयको शाख समेत पुर्ताल गर्ने गरि श्रेष्ठले काम गर्लान कि नगर्लान, हेर्न बाँकी नै छ। उनीबाट आशा भने धेरैले गरेका छन्।
***
कुलबहादुर श्रेष्ठ रुकुमको जिल्ला न्यायाधीश हुँदाको कुरा हो, नेपालगञ्जमा त्यसभेगका न्यायाधीशको सम्मेलन थियो। उनले सम्मेलनमा एउटा सवाल गरे- धनिमानी मान्छे विरुद्ध गरिबका मुद्दा हेर्नु पर्दा प्रमाणको समस्या धेरै हुने गरेको छ। गरिबका प्रमाण कमजोर हुन्छन्, धनिका बलिया। यस्तो बेला न्याय कसरी गर्ने?
उनको प्रश्नमा धेरैले दिलचश्पी देखाएनन्। पर्दापछाडि बसेर सुनिरहेका प्रधानन्यायाधीश नयनबहादुर खत्री अघि सरेर श्रेष्ठको प्रश्नमा छलफल गर्न लगाए। त्यो सम्मेलनमा चित्तबुझ्दो जवाफ पनि श्रेष्ठ आफैले दिनुपर्यो- न्याय पाउनुपर्ने पक्षको प्रमाण कमजोर छ भन्ने लाग्छ भने, ‘न्यायिक मनले’ आफैं प्रमाण खोज्न पनि सक्नुपर्छ।
तिनै न्यायाधीश बाबुका छोरा हुन्, कल्याण श्रेष्ठ। उनमा ‘न्याय’ गर्ने र प्रमाण पर्गेल्ने खुबी त्यसै आएको होइन।
बरिष्ठतम् न्यायाधीश हुनेबेलासम्म उनी बार र बेञ्च समन्वय समितिका संयोजक थिए। समितिको बैठकमा अधिवक्ताहरुले भन्ने गर्छन्- ‘मुद्दामा फैसला धेरै ढिलो भयो। न्यायाधीश श्रेष्ठले पनि गुनोसो लिएर आएका हुन्छन्, ‘हामीले गरिबको मुद्दा हेर्नै पाएनौँ!’
धनिका मुद्दामा धेरै वकिल हुन्छन्, उनीहरुले घण्टौँ बहस गर्दिन्छन्, पुरै दिन सकिन्छ। निमुखाको मुद्दाको पालो सर्छ।
आफ्ना बुवाले निमुखाको न्याय मर्न दिनुहुन्न भन्ने सन्देश न्यायाधीशका सम्मेलनमा मात्रै होइन घरमा पनि सुनाउँथे।
कुलबहादुर श्रेष्ठ आफैले छोराछोरीलाई सिकाउने गरेको सम्झिन्छन्,‘म सधैँ यिनीहरुलाई भन्ने गर्थेँ, ‘मान्छे भएर जन्मिएपछि उसले समाजको भलो हुने काम गर्नुपर्छ। अरूका लागि काम गर्ने मानिस मात्रै ठूलोमान्छे बन्छ।’
मुद्दाका प्रमाण नै न्यायका आधार हुन्, तीनलाई पर्गेलेर दोषीलाई सजाय र पीडितलाई न्याय दिन सक्ने मान्छे कुशल अनि असल न्यायाधीश हुन्छ। दोषिलाई कारबाही र निर्दोषलाई न्यायको घोषणा गर्ने न्यायाधीश राग र द्वेषबाट मुक्त हुनुपर्छ भन्ने मान्यता छ। आचरणमा खोटमुक्त, काममा दक्ष र ज्ञानी हुन धेरै तप चाहिन्छ।
न्यायक्षेत्रका गन्यमान्यहरु भन्छन्- कल्याण श्रेष्ठ त्यो तपमा धेरै खरो उत्रिएका व्यक्ति हुन्।
४२ वर्ष न्यायपालिकामा विताएका श्रेष्ठ यहाँ भित्रका विकृति विसंगतीको जानकार छन् नै। ती विरुद्ध उभिन सक्ने र नैतिकवल र आत्मविश्वास भएका न्यायाधीश हुन् भनेर धेरैले उनको नेतृत्व कुरिबसेका छन्।
नेपाल बार एशोसियसनका महासचिव सुनिलकुमार पोखरेल उनलाई न्याय र कानुनप्रति इमान्दार न्यायाधीशका रुपमा चिन्छन्।
‘अहिलेसम्म मैले हेर्दा न्यायप्रतिको उहाँको इमानमा शंका गर्ने ठाउँ छैन, विवादमा नपरेको न्यायाधीश हो,’ उनले भने,‘तर अब उहाँले समाल्ने जिम्मेवारी सजिलो भने छैन।’
***
नेवारहरू उपत्यका बाहिर व्यापारका शिलसिलामा फैलिएका हुन्। नेपालका जुनसुकै शहरमा नेवारहरुको खानदानी पेशा नै व्यापार हो। तर, बाग्लुङ बजारको माल अड्डाका कर्मचारी थिए कुलबहादुर। उनले आफ्ना छोराछोरीलाई राम्रै ठाउँमा राखेर पढाउने हैसियत राख्थे। आर्थिक अवस्था राम्रै थियो।
कक्षामा जहिलै पहिलो हुने कल्याण श्रेष्ठले एसएलसी दिएपछि एसएलसीलाई नै पढाउँथे। माइला छोरा कल्याणलाई बिए पढ्न काठमाडौं पठाए। जेठा छोरा इन्जिनियरिङ पढ्न विदेश गैसकसेका थिए अरु छोराछोरी स्कुल पढ्थे बाग्लुङमै।
कल्याणको स्नातक तह सकिएपछि कुलबहादुरलाई लाग्यो-यो छोरालाई व्यापार गर्न लगाउँछु।
‘चितवनमा जाउ र व्यापार गर त्यहीँ घर खोजीदिउँला।’
बावुको निर्देशनमा कुनै ‘नोटअफ डिसेन्ट’ थिएन श्रेष्ठको। काठमाडौं आएपछि श्रेष्ठ चितवन जान झोला कसे। २०-२१ वर्षका थिए।
त्यही बेला पढ्न विदेश गएका दाई मनोहर श्रेष्ठ काठमाडौं आए।
‘पर्दैन व्यापार गर्न तिमीले कानुन पढ,’ यसो भन्ने दाइले बुवालाई पनि सम्झाइदिए, ‘उसलाई पढ्न दिनुस् पढोस्। दिमाग तेज छ।’
‘बाबुलाई के थियो र छोराको खुसी भन्दा ठूलो? मैले हुन्छ भनिदिएँ।’ आफ्ना छोरा कसरी कानुनको दुनियाँमा पुगे भनेर कुलबहादुर सम्झीरहन्छन्,‘त्यो बेला मैले पर्दैन पढ्न भनेको भए शायद यो दिन आउने नै थिएन।’
केही समयपछि कुलबहादुर आफैं न्यायाधीश बने।
कानुन पढ्दा पढ्दै कल्याणले राजनीतिशास्त्रमा स्नातकोत्तर गरे, पछि नेपालीमा समेत स्नातकोत्तर पास गरे। धेरै पछि अन्तर्राष्ट्रिय कानुन तथा विकासमा नेदरल्याण्डबाट पोष्ट ग्रयाजुएसन गरे।
२०२९ सालको कुरा हो। बाबु अदालतको काम लिएर काठमाडौं आइपुगेका थिए, छोराकै डेरामा बसे। राति दुईतीन बजेतिर बाबु व्यूझिँदा पढिरहेका थिए छोरा। बिहान उठ्दा उनी हिँडिसकेका थिए।
‘साँझ मात्रै थाहा भयो उसले त बिहानदेखि साँझसम्म परीक्षा दिएर पो आएको रहेछ,’ कुलबहादुरले सम्झे ‘पढ्नमा तेज थियो उत्तिकै मिहेनती, पढ भनेर कसैले सम्झाउनु नपर्ने।’
त्यो दिन उनका छोराले लोकसेवाको पनि जाँच दिएका रहेछन्। रिजल्ट आउँदा शाखा अधिकृतमा नाम पनि निस्क्यो।
कर कार्यालयमा जागिर पाएपनि कल्याणलाई चित्त बुझेन। उनी लोकसेवामा गएर भने रे, ‘मलाई नराम्रो काम गर्नु छैन त्यस्तो बद्नाम अफिसमा काम गर्दिनँ।’
धेरै जागिरेले कर कार्यालय माग्थे। पैसा खेलाउन पाइने अड्डामा जागिर पाउनु भाग्यको कुरा थियो। यस्तो भाग्यभन्दा इमान्दार कर्मप्रति उनलाई बढी भरोसा थियो शायद। उनलाई जिल्ला विकास अधिकारी बनाएर नेपालगञ्ज पठाइयो।
कुलबहादुरले आफूले माल अड्डामा काम गर्दाको अनुभव थियो, अञ्चलाधीशको काम पनि उनले नजिकबाट देख्न पाएका थिए अपजसिया काम थियो। उनले छोराको करियरको लागि सोच्न थाले।
छोरालाई पढ्न लेख्न र स्वतन्त्र हिसाबले काम गर्न मनपर्छ भन्ने कुलबहादुरलाई थाहा थियो।
छोराले आफ्नो स्वभाव अनुसार स्वतन्त्र हिसाबले काम गर्न पाओस् भन्ने उनको मनमा थियो। छोराले कानुनमा स्नातक गरिसकेपछि कुलबहादुरको मनमा अर्कै सोच आयो।
त्यस्तो काम न्यायाधीशको मात्रै हुन्छ भन्ने उनलाई लागिरहेको थियो।
कुलबहादुर आफै जिल्ला न्यायाधीश भैसकेका थिए। २०३१ साल तिर, एक दिन उनी कल्याणलाई लिएर प्रधानन्यायधीशकोमा गए।
कल्याणसँगको कुराकानीमा प्रधानन्यायाधीश नयनसिंह खत्री प्रभावित भए, उनलाई आफ्नो स्वकीय सचिव बनाए। यसरी श्रेष्ठ शाखा अधिकृतबाटै न्यायसेवामा प्रवेश गरे। प्रधानन्यायधीशको स्वकीय सचिव भएको पाँचवर्ष पछि २०३६ सालमा उनी जिल्ला न्यायाधीश भए।
त्यो बेला न्यायाधीशबाट बढुवा भएर उपल्लो तहको कर्मचारीमा जाने कानुन थियो। ४ वर्ष पछि उनी कानुनमन्त्रालयको उपसचिव भए।
यसैबेला तिर उनी पोष्ट ग्य्राजुएसन गर्न नेदरल्याण्ड जाने अवसर पाए।
२ वर्ष उपचसचिव भएपछि २०४२ सालमा उनलाई जनकपुरको अञ्चल न्यायाधीश बनाइयो। २०४७ सालदेखि २०६२ सम्म श्रेष्ठ क्रमशः पुनरावेदन अदालत हेटौँडा, बुटवल, राजविराज, पाटन र विराटनगरमा न्यायाधीश भए। २०६२ सालमै जुम्लाको मुख्य न्यायाधीश भएर गए। त्यही साल सर्वोच्च अदालतको न्यायाधीशको रुपमा तानिए।
यत्रो करियर बनाएर सर्वोच्च पदमा पुगेका कल्याण श्रेष्ठलाई भने अचेल लाग्छ रे,‘मैले आफ्नो स्वभाव अनुसारको स्वतन्त्रता भोग्नै पाइन।’
विषयबस्तुको ज्ञान, भाषामा दख्खल र मुद्दा चिन्न सक्ने अब्बल न्यायाधीशमा उनी दरिइसकेका छन्।
‘मुद्दा हेर्ने वित्तिकै चिन्न सक्ने खुबी र कानुनको यति राम्रो ज्ञान भएको उहाँ जस्तो न्यायाधीश मैले कमै देखेकी छु,’ बरिष्ठ अधिवक्ता सपना मल्ल प्रधानले भनिन्,‘उहाँको इजलासमा मेरो पहिलो मुद्दा न्यायक्षेत्रको विषयमा थियो, त्यसमा पनि निष्पक्ष फैसला गरेको देखेर म प्रभावित भएकी थिएँ।’
सपनाको एउटै गुनासो के भने, ‘कल्याण श्रीमान’को बेन्चमा धेरैबेर बहस गर्न पाइदैन। ‘उहाँ आफूले मुद्दा बुझ्नुभो रे तर हामीले पनि त आफ्नो कुरा चाहेजति राख्न पाउनुपर्यो भन्ने सधैँको गुनासो हो, मेरो।’
यस्तो गुनासो भने सरकारीवकिलहरुको पनि रहेछ। ‘तर मुद्दा चिन्ने उनको खुबी राख्ने भएकाले यो गुनासो आफै हराउँछ’ महान्यायाधीवक्ता कार्यालयका एक अधिकारीले भने।
न्यायाधीश श्रेष्ठको फैसला लेखन पनि तारिफ योग्य भएको उनले बताए।
कानुनी भाषा आफैंमा सामान्य मानिसले नबुझ्ने 'जार्गन'हरुले भरिएको हुन्छ, त्यसमाथि लामा लामा वाक्य र जटिल भाषामा फैसला लेख्ने चलन छ न्यायलयमा। ‘तर श्रेष्ठको फैसलामा सरल भाषा र भाषिक मिठास उत्तिकै हुन्छ’ ती अधिकारीले भने।
***
हुन त धेरै विदेश गैराख्ने र आइएनजीओका मुद्दाको पक्षपोषण गर्छन् श्रेष्ठका फैसलाले भनी आरोप लगाउनेहरू पनि उत्तिकै भेटिन्छन् न्यायालयमा। उनीमाथि अर्को आरोप पनि छ, आफ्नो जातप्रति पक्षपाति छन् भन्ने।
बार महासचिव पोखरेल भने श्रेष्ठको न्याय र कानुनप्रतिको निष्ठामा प्रश्न गर्न सकिने ठाउँ आफूले नदेखेको बताउँछन्।
अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो भएका न्यायाधीश मध्ये श्रेष्ठ पनि एक हुन्।
‘अन्तराष्ट्रिय क्षेत्रमा कल्याण श्रेष्ठको जस्तो राम्रो छवि भएको अर्को नेपाली न्यायाधीश मैले देखेको छैन,’ पोखरेलले भने।
अहिले पनि न्यायाधीश श्रेष्ठ सार्क लको अध्यक्ष छन्। सार्कक्षेत्रका न्यायाधीशहरुले चुनावी प्रतिस्पर्धामा जितेर मात्र यो पद पाइन्छ।
***
न्यायक्षेत्रमा काम गर्नेहरुलाई अनौपचारीक या औपचारीक सम्बोधनमै ‘विद्वान’ भन्ने गरिएको छ। न्यायाधीश श्रेष्ठले भने यो क्षेत्रमा कार्यरत न्यायाधीश वकिल र कर्मचारीहरुको ज्ञानसीपको अभाव देखिरहन्छन्। प्रधानन्यायाधीश सिफारीस भएपछिको भेटमा उनले भनेका थिए, ‘यो क्षेत्रमा काम गर्नेहरुले को ज्ञानसीप र मुद्दालाई चिन्न सक्ने खुबीमा समस्या छ, दक्ष मान्छेहरुको खाँचो छ न्यायलयलाई।’ न्यायक्षेत्रका हरेक व्यक्तिलाई बेलाबेला तालिमको दिइरहनुपर्ने धारणा राख्छन् उनी।
यहि असन्तुष्टिले उनलाई राष्ट्रिय न्यायिक प्रतिष्ठान स्थापना गर्ने पहल गर्न प्रेरणा दियो। यो प्रतिष्ठानको संस्थापक निर्देशक हुन् उनी।
पुनरावेदन पाटनका एक न्यायाधीश सम्झिन्छन्, ‘न्यायाधीशलाई पनि तालिम दिनुहुन्छ? भनेर प्रश्न गर्नेहरु धेरै थिए।’
तर प्रतिष्ठान स्थापना भयो धमाधम तालिम दिन थालियो। अहिले न्यायाधीशलाई तालिम दिन हुन्न भन्ने धेरै कम छन्।
‘उहाँले आफ्नो अवधारणालाई स्थापीत गर्न धेरैकाम गर्नु भयो,’ ती न्यायाधीशले भने,‘न्यायपालिकाको रणनीतिक योजनालाई पनि स्थापीत बनाउन उहाँ धेरै खटिनुभयो।’
तालिममा पाएका कुरा न्यायालयको सुधारमा लगाउनुपर्छ भन्ने मान्यता राख्ने न्यायाधीश हुन उनी। पञ्चबर्षीय रणनीतिक योजना बनाउन उनले नेतृत्वदायी भूमिका खेलेका छन्। मुद्दाको व्यवस्थापनदेखि फैसला कार्यान्वयन प्रभावकारी बनाउन उनी लागिरहेकै छन्।
***
आदर्श न्यायाधीशले न्यायलयको स्वतन्त्रताको रक्षा गर्छ। श्रेष्ठ न्यायालयको स्वतन्त्रता र निष्पक्षताको पक्षमा खरो उत्रिन सक्ने न्यायाधीश हुन्।
पहिलो संविधानसभा र दोस्रो संविधानसभामा संवैधानिक अदालत हुनुपर्ने भनेर बहस सुरु भयो। न्यायाधीश फैसलामा मात्रै बोल्नुपर्छ भन्ने एउटा मान्यता छ। तर न्यायाधीशहरू बाहिर कार्यक्रममा पनि बोल्न थाले। नेपालमा संवैधानिक अदालत चाहिन्न भन्ने मान्यता श्रेष्ठको छ।
संविधानको व्याख्या गर्नै नपाएपछि सर्वोच्च अदालत रहनुको औचित्य नहुने उनको तर्क थियो।
पछिल्ला वर्षहरुमा प्रधानन्यायाधीशले नै नेतृत्व गर्ने अर्को संस्था न्यायपरिषदको छवि राम्रो छैन।
एक वकिलले न्यायपरिषद गठनको उद्देश्य सम्झिँदै भनेका थिए - घुस खाने, आचरण विपरित अन्यकाम गर्ने न्यायाधीशलाई कारबाही गर्न स्थापना गरेको हो तर परिषद्ले उनीहरुलाई संरक्षण गर्न स्थापना भएको जस्तो ठानेर काम गरिरहेको छ।
न्यायाधीशको आचरण र कार्यसम्पादनकै आधारमा पुरस्कृत र दण्ड दिने व्यवस्था पनि नभएको होइन। पछिल्लो समय परिषद् न्यायाधीश नियुक्ति लगायत धेरै कारणले बद्नाम भैसकेको छ।
‘उहाँको एउटा चुनौति योग्य व्यक्तिलाई न्यायलयमा लैजानु र न्याय परिषद्लाई पारदर्शी बनाउनु पनि हो’, पुनरावेदन पाटनका ती न्यायाधीशले भने।
पूर्वप्रधानन्यायाधीश केदार गिरिले श्रेष्ठको न्यायप्रतिको निष्ठा र इमानमा शंका गर्न नपर्ने बताए। उनी आशलाग्दा न्यायाधीश भएको उनको ठम्याइ छ।
‘उहाँजस्तो मान्छेको कार्यकाल अलि धेरै भैदिएको भए हुन्थ्यो।’ उनले भने,‘जम्मा नौ महिना छ, तर उहाँ राम्रो काम गरेर देखाउन सक्ने मान्छे हो.’
नियमन गर्ने निकायलाई सञ्चालन गर्ने व्यक्ति सक्षम, इमान्दार र पारदर्शी भए अन्त पनि सुधार हुँदै जान्छ। न्यायलयको धमिलिँदै गएको छविलाई सुधार्ने जिम्मा अब श्रेष्ठको हातमा छ।
श्रेष्ठले आजसम्म बनाएको आदर्श न्यायाधीशको छवि अन्तिम परीक्षामा छ।