नेपालको अन्तरिम संविधानमा २५ भाग, १६७ धारा र ४ अनुसूची थिए। अहिले आएर संविधानसभाको मस्यौदा समितिले बनाएको संविधानको प्रारम्भिक खाकामा ३६ भाग २९६ धारा र ७ अनुसूची रहेका छन् ।
कुनै पनि देशका संविधान आवश्यकता अनुसार लामा वा छोटा हुन्छन्। भारतको संविधानलाई संसार कै सबैभन्दा लामो संविधान मानिन्छ। यसमा ४४४ धारा, २२ भाग, १२ अनुसूची र ११८ संशोधनहरु रहेका छन्।
संयुक्त राज्य अमेरिकाको संविधान विश्वको सबैभन्दा छोटो र छरितो संविधान मानिन्छ। अमेरिकाको संविधानमा केवल ७ धारा र २७ वटा संसोधन समावेश छन्। यसको कारण अमेरिकी राज्यका आ–आफ्नै संविधानहुनु पनि हो। अमेरिका विभिन्न राज्य मिलेर बनेको र सैधान्तिक रुपमा स्वायत्त हुन्छन्। अमेरिकी राज्यहरु आफना राज्य व्यवस्था कसरी चलाउन भन्नेबारे स्वतन्त्र हुन्छन्। यद्दपी अमेरिकामा केन्द्र बलियो र राज्य कमजोर हुने प्रक्रिया लामो समयदेखि शुरु भएको हो।
देश चलाउन संविधान नामको छुट्टै लिखित दस्तावेज हुने पर्छ भन्ने पनि छैन। बेलायत, इजरायल र न्युजिल्याण्डमा छुट्टै लिखित संविधान भन्ने दस्तावेज छैन। विभिन्न लिखित दस्तावेज र परम्परा र अदालतका नजिर नै ती देशको शासन व्यवस्था चल्ने गर्छ। त्यहाँका संसदले परम्परालाई ख्याल राख्दै बढी भन्दा बढी विवेक प्रयोग गरेर शासन व्यवस्था सञ्चालन गर्छन्। सन् १२१५ को म्याग्नाकार्टालाई बेलायतमा संविधान कै एक दस्तावेजको रुपमा लिइन्छ।
अमेरिकाको संविधानमा अमेरिकी राज्यका शासन व्यवस्था कस्तो हुने भन्ने बारे विस्तारमा ब्याख्या गर्दैनन। तर, भारतको संविधानले राज्यहरु कस्तो हुने, केन्द्र र राज्यका अधिकारको बाँडफाँड कसरी हुने र कसरी संचालन गर्ने भन्नेबारे पनि विस्तृतमा ब्याख्या गर्छ।
नेपालको अन्तरिम संविधानमा १६७ धारा भएकोमा अहिले आएर २९६ धारा पुगेको छ। नयाँ संविधानले मुख्यता संघीयताको स्वरूप लगायतका विषय समेट्नु परेकोले पनि संविधान लामो भएको हो।