एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्य चारदलबीच भएको सहमतिमा सबै दल सहमत हुने बताएका छन् ।
पार्टी मुख्यालय बल्खुमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले केही दलहरु असन्तुष्ट भए पनि छलफल गरेर मिलाउने बताए।
उनले भने, 'कोहिसँग केही असन्तुष्टी छ जस्तो लाग्दैन। उहाँहरु सबै संविधान बनाउन संविधान सभामा आउनु भएको हो । त्यसैले, संविधान बन्ने कुरामा कसैको असन्तुष्टी नहुनु पर्ने हो। कहीँकतै केही बाँकी रहेछ भने हामी बुझ्छौं किन रहेछ र छलफल गरेर मिलाउँछौं।'
सहमतिका लागी एमालले कुनै पनि अडान नत्यागेको उनको दाबी छ । पत्रकारहरुसँग उनले भने, 'एमालेको अडान सामाजिक सद्भाव र राष्ट्रिय एकता हो। समृद्धी तर्फको यात्रा हो। यो अडान हामीले छोडेको छैन।'
उनले अडान प्रदेशहरुको संख्या नभएर सिद्धान्तमा भएको बताएका छन्। सिद्धान्तममा दलहरु एक ठाउँ आएपछि सहमति भएको उनको दाबी छ।
एक अर्को प्रसंगमा उनले भूकम्प पिडितको अस्थाई पुनर्वासका लागि एमालेले सरकारले भन्दा बढि काम गरेको दाबी गरे। उनीसँगै बसेका उपप्रधान एवं गृहमन्त्री तथा एमाले उपाध्यक्ष बामदेव गौतम तर्फ सङ्केत गर्दै नेपाल सरकारले एमालेले जति काम गर्न नसकेको बताए।
उनले एमालेका स्वयंसेवकहरुले सरकारको सहयोग बिना १५ हजार घर बनाएर पीडितलाई हस्तान्तरण गरेको सन्दर्भ जोड्दै भने, 'नेपाल सरकार एमाले जति काम गर्न सक्षम छैन। सरकारले यति छोटो अवधिमा १५ हजार घर बनाउन सक्छ? एमालेले बनायो।'