सत्तासाझेदार दल नेकपा (एमाले) धनुषाका सचिव लक्ष्मीनारायण यादवलाई प्रहरीले आज पक्राउ गरेको छ ।
धनुषाको सबैलामा भएको हत्या काण्डका फरार अभियुक्त यादवलाई प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इँले जानकारी दिएका छन्।
यादवलाई प्रहरीको विशेष टोलीले धनुषाको प्रखे महुवा–४ बाट पक्राउ गरेको बताइएको छ । सबैला नगरपालिकास्थित मदन आश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचनसम्बन्धी विवादले उग्र रुप लिएपछि दुईजनाको हत्या भएको विषयमा यादव पक्राउ परेका हुन्।
यादवलाई यो घटनामा मृत्यु भएका रामसेवक राउतको हत्यामा संलग्न रहेको भन्दै पक्राउ गरिएको हो । उनी करिब डेढ महिनादेखि फरार थिए ।
सबैला घटना नेकपा (एमाले)का वैकल्पिक केन्द्रीय सदस्य योगनारायण यादवको संलग्नतामा भएको भन्दै उनीसहित २९ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेको थियो । विपक्षी बनाइएका २९ जनामध्ये प्रहरीले चारजनालाई पक्राउ गरेको छ भने वैकल्पिक केन्द्रीय सदस्य यादवसहित अन्य फरार छन् । रासस