अमेरिकी राष्ट्रपति बराक ओबामाको प्रशासनले शुक्रबार क्युबालाई आतङ्कवादसम्बन्धी कालोसूचीबाट औपचारिक रूपमा हटाएको छ । यसलाई क्युवामा दशकौँदेखिको घाउ निको पार्ने तथा शीतयुद्धको समयदेखिका शत्रुबीच सम्बन्ध सामान्य बनाउने प्रयासको रूपमा हेरिएको छ ।
राष्ट्रपति ओबामाको प्रशासनले संसदलाई अप्रिल १४ मा क्युबालाई आतङ्कवाद प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउने चाहना व्यक्त गरेको थियो । यसको ४५ दिनपछि विदेशमन्त्री जोन केरीले उक्त कार्य गरेका हुन। यस अवधिमा सांसदहरूले यस पाइलाको विषयमा पुनराबलोकन गर्नसक्थे तर उनीहरूले त्यसो गरेनन् ।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा संसदलाई ४५ दिन पहिले दिइएको सूचनाको अवधि सकिएकाले विदेशमन्त्रीले क्युबालाई आतङ्कवाद प्रायोजन गर्ने मुलुकबाट मे २९ देखि हटाउने निर्णय गरेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा अमेरिकासँग क्युवाका नीति तथा क्रियाकलापमा व्यापक असहमति भए पनि ती कुरा आतङ्कवाद प्रायोजन गर्ने मुलुकको क्रियाकलापसँग सम्बन्धित आधारभित्र नपरेको उल्लेख गरिएको छ ।
यसबीच दुई मुलुकका अधिकारीहरू पूर्ण रूपमा कूटनीतिक सम्बन्ध स्थापना गने विषयमा निरन्तर रूपमा प्रयास गरिरहेका छन् । यी कुरामा वासिङटन तथा हवानमा दूतावास खोल्ने तथा राजदूतहरू फर्कने कुरा परेका छन् । अमेरिकाले क्युवासँगको कूटनीतिक सम्बन्ध सन् १९६१ को जनवरीदेखि तोडेको थियो । क्युबालाई आतङ्कवादीको सूचीबाट हटाउनुपर्छ भनी हवानाले प्रमुख माग गरेको थियो ।
वासिङटनमा क्युवाको अभिरुचि हेर्ने निकायले यसै महिना नयाँ बैङ्कसँग सम्बन्ध गाँसेको छ । सन् १९९० को दशकमा संसदले क्युवासँग व्यापार गर्न प्रतिबन्ध लगाएको थियो भने रिपब्लिकनको नियन्त्रणमा रहेको संसदले त्यसलाई खारेज गर्ने कुनै अभिरुचि देखाएको छैन । यसैले ब्याङ्कहरूले क्युबासँग व्यापार गर्न अझै सावधानी लिने गरेका छन् । रासस/एपी