पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भूकम्पपश्चात देश राष्ट्रिय संकटबाट गुज्रिएले सर्वदलीय राष्ट्रिय सरकार गठन गरी नवनिर्माण र पुनर्निर्माणमा सबै एक जुट हुनु पर्ने बताएका छन्।
गणतन्त्र दिवसका उपलक्षमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी नेता भट्टराईले भने ‘अहिलेको समस्या संग जुध्नका निम्ति एउटा बलियो राष्ट्रिय सरकारको आवश्यकता छ।’ तर सरकारको नेतृत्व कसले गर्ने बारे उनले केही बताएनन्।
कार्यक्रममा बोल्दै भट्टाराईले भूकम्प पश्चात देशमा पुनर्निर्माण र नवनिर्माण आवश्यक रहेको बताउँदै सरकारले ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरण’ वा त्यस्तै प्रकारको संयन्त्र गठन गर्नु पर्ने बताए।
'पुनर्निर्माण र नवनिर्माणको कार्यलाई अघि बढाउन पनि बलियो राष्ट्रिय सरकारको आवश्यकता छ', उनले भने।
निर्माण कार्य अघि बढाउँदा अहिलेका राजनीतिक विवाद थाँती राख्न नहुने उनको विचार छ। ‘संघीयता र समावेशिताका कुरालाई सामाधान गरेर अघि बढ्नु पर्छ,’ उनले भने।
राजनीतिक नेतृत्व जस्तो सुकै भए पनि देशको नेतृत्व राजनीतिले नै गर्ने हुनाले अहिले सबै दल मिलेर देश पुनर्निर्माणमा जुट्नु पर्ने उनको तर्क छ। तर राष्ट्रिय सरकारको कुरा अहिलेसम्म बहसको रुपमा मात्र आएको भट्टराईले बताए।