एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सरकार गठनका लागि संविधान बन्ने सुनिश्चित हुनुपर्ने शर्त अघि सारेका छन्।
संविधानका विवादित विषयमा सहमित नभई राष्ट्रिय सहमतिको सरकार बनाउनुको औचित्य नभएको भन्दै अध्यक्ष दाहालले नयाँ शर्त अघि सारेका हुन्।
राजधानीको नयाँबानेश्वरमा शुक्रबार बिहान आयोजित कार्यक्रममा बोल्दै उनले मन्त्रीको हेरफेरको मात्रै कुनै अर्थ नरहेको बताएका हुन्।
अध्यक्ष दाहालले महाविपतपछि बन्ने नयाँ सरकार नयाँ भिजन, नयाँ इच्छाशक्ति र दृढता सहितको बन्नेपर्नेमा जोड दिए।
नयाँ बन्ने सरकार सामुन्ने दुईवटा कार्यभार रहेको उनले बताएका छन्, ‘एउटा कार्यभार संविधान निर्माणको र अर्को भूकम्पद्वारा सिर्जित परिस्थितिको सामना गर्नका लागि नवनिर्माण र पुनर्निर्माणको एउटा महाअभियान सञ्चालन गर्ने एकतावद्ध संकल्पको। यी दुई कार्यभार हाम्रो सामुन्ने छ यतिबेला।’
उनले नवनिर्माण तथा पुननिर्माणका लागि विदेशीको मुख ताक्नुभन्दा पनि आफ्नै स्रोतको समूचित उपयोग गर्नुपर्नेमा जोड दिए।