नारायणहिटी दरबार परिसरमा निर्माणाधिन गणतन्त्र स्मारकको काम अन्तिम चरणमा पुगेको छ भने गणतन्त्र स्तम्भको काम शिलन्यासमै सीमित भएको छ ।
तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले २०६८ चैत्र १४ गते शिलान्यास गरेको स्मारक आगामी मङ्सिरमा निर्माण सम्पन्न हुने भएको छ।
सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर मचाकाजी महर्जनले स्मारकको झण्डै ७५ प्रतिशत काम सकिएको जानकारी दिए। उनले मुख्य निर्माणका सबै काम सकिएकाले अब अन्तिम चरणको काम (फिनिसिङ) मात्रै बाँकि रहेको जानकारी दिए।
स्मारकको अनुमानित लागत ४२ करोड छ । केही रकम बढ्न सक्ने महर्जनले बताए। नारायणहिटी दरबारको पूर्वतर्फको ३७ रोपनी जग्गा स्मारकलाई छुट्याइएको छ ।
स्मारक दुई तला जमिन मुनि हुनेछ। एक तला जमिनमाथि हुनेछ । जमिनमुनिबाट स्मारकको कुल उचाइ १२ मिटर हुनेछ।
स्मारकमा चारवटा खम्बा हुन्छन् । तीमध्ये गणतन्त्र ल्याउने आन्दोलनमा ज्यान गुमाउनेको सम्झनामा, घाइते हुनेको सम्झनामा, अपहरणमा परेकाको सम्झनामा र बेपत्ता भएकाहरुको सम्झनामा एक,एक खम्बा बनाइने इन्जिनियर महर्जनले जानकारी दिए। चारवटा खम्बालाई फलामे गोलो रिङले घेरिनेछ।
चारवटा खम्बाको बीचमा रहेको खाली ठाउँमा नेपालको चित्र बनाइने र प्रकाशमार्फत चित्रमा उज्यालो पारिने भएको छ।
स्तम्भको जमिनमुनिको एउटा तलामा बैठक, सभा, विशिष्टलगायतका कक्ष हुन्छन्। अर्को एउटा तलामा फोटो ग्यालरी कक्ष हुनेछ । सभाकक्षमा झण्डै तीन सय जना अट्ने छन्।
स्मारक बनेको ठाउँभन्दा बाहिर वरिपरि चारैतिर बगैचा बनाइनेछ। स्मारक निर्माणपछि अवलोकनको सम्पूर्ण व्यवस्थापन नारायणहिटी दरबार सङग्राहलयलाई दिने विभागको तयारी छ।
सङ्ग्राहलय हेर्न जानेलाई नै स्मारकको समेत अवलोकन गराइने विभागले जनाएको छ।
गणतन्त्र स्तम्भ भने अझैपनि अन्यौलमै
काठमाडौँ महानगरपालिका–१४ गाङखेलमा निर्माण गर्नेगरी २०६९ साल वैशाख १४ गते शिलान्यास भएको गणतन्त्र स्तम्भको निर्माण कार्य अझै अन्यौलमै छ ।
स्तम्भ निर्माण गर्न अर्थ मन्त्रालयबाट बजेटको व्यवस्था नभएकाले निर्माणको कार्य अगाडि नबढेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
विभागबाट स्तम्भसम्बन्धी सम्पूर्ण योजना सहरी विकास मन्त्रालयमा पठाएपनि छलफलकै क्रममा रहेको विभागका इन्जिनियर महर्जनले जानकारी दिए।
स्तम्भका लागि एक अर्ब २५ करोड लाग्ने अनुमान छ । स्तम्भको २४ मिटर अग्लो भागमा रहने पहिलो दृश्यावलोकन कक्षमा १५० तथा ६३ मिटर अग्लोमा बन्ने र दोस्रो दृश्यावलोकन कक्षमा ११५ जना अट्ने बनाइने छ ।
स्तम्भ वरिपरि एकैसाथ एक हजार व्यक्ति अटाउनुका साथै सयवटा चारपाङ्ग्रे र ३५० ओटा दुईपाङ्ग्रे सवारी साधनलाई पार्किङ गर्न मिल्ने गरी तयार गरिने भएको छ । स्तम्भका लागि त्रिभुवन विश्वविद्यालयको ७० रोपनी जग्गा छुट्याएर तारबार गरिसकिएको छ ।
यसअघि अन्य दुई ठाउमा स्तम्भ निर्माणका लागि शिलान्यास गरिएको थियो । सवैभन्दा पहिले रत्नपार्क, त्यसपछि ललितपुरको गुसिङ्गाल हुँदै पछिल्लोपटक कीर्तिपुर नजिक काठमाडौं महानगरपालिका–१४ गाङखेलमा स्तम्भ निर्माण कार्यको शिलान्यास गरिएको हो ।
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०६९ साल वैशाख १४ गते स्तम्भको शिलान्यास गरेका थिए। रासस