फाइल तस्विरःसेतोपाटी
भूकम्प प्रभावितलाई सघाउन कांग्रेस, एमाले, एमाओवादी लगायत अरू दलका नेताहरु पीडित वस्ती पुगिरहेको खबर सञ्चार माध्यम र सामाजिक संजालमा आइरहेको छ।
अरू दलभन्दा एक कदम अघि बढेर एमालेले ‘भूकम्प पीडितका लागि राष्ट्रिय स्यवंसेवक परिचालन’ नाम दिएर एक महिने औपचारिक अभियान नै चलाएको छ। एमालेका ‘पपुलर’ नेता पार्टी सचिव गोकर्ण विष्ट अभियान संयोजक छन्।
स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरु समेत श्रम गर्न गाउँ छिरे भनि घोषणा गरिएको अभियान के हो? भन्नेबारे सेतोपाटीले बिष्टसँग गरेको कुराकानी:
एमालेले तपाईँको नेतृत्वमा कस्तो अभियान अघि बढाएको हो?
वैशाख १२ गते आएको विपत्तिले लाखौं सर्वसाधारणलाई पीडित बनाएको छ। उनीहरूलाई सरकार र गैरसकारी क्षेत्रले सकेको सहयोग गरिररहेकै छन्। अझ गर्ने सरकारले नै हो। तैपनि क्षतिको मात्रा यति ठूलो छ कि सबै पीडितको न्यूनतम आवश्यकता पूर्ति गर्न गाह्रो छ। यस्तो बेला पार्टी पंतीलाई अति प्रभावित गाउँ पठाएर सकेको गरौं भनेर स्वयंसेवक अभियान सुरू गरिएको हो।
अभियानको कार्यक्षेत्र र बनोटबारे बताइदिनुहोस न?
जेठ १० देखि सुरू भएको यो अभियानमा १० हजार केन्द्रीकृत शक्ति परिचालन गरिएको छ। लमजुङदेखि ओखलढुंगासम्मका पहाडी जिल्ला, मकवानपुर र सिन्धुलीसहित १७ जिल्लाका पचास निर्वाचन क्षेत्रमा केन्द्रीय टोली पुग्छ। निर्वाचन क्षेत्रमा पोलिटब्यूरो वा केन्द्रीय सदस्यको नेतृत्व रहन्छ। जिल्लाको एक महिने कामकारबाहीको अनुगमन गर्न स्थायी समिति सदस्य वा सरहका नेता खटाएका छौं। केन्द्रबाट गएका स्वयंसेवकसँग स्थानीय किमिटीका साथि मिसिनुहुन्छ। यसले अभियानको आकार पचासौं हजारको बन्ने अपेक्षा हाम्रो छ।
निर्वाचन क्षेत्रमा पुगेको हाम्रो टोली फुटेर १०/१० जानाको समूह बन्छ। त्यो पीडितको आँगनमा पुग्छ।
प्रत्येक गाविसमा पुग्ने टोलीमा कुनै न कुनै दिन ओभरसियर, सबओभरसियर, घर निर्माणबारे तालिमप्राप्त प्राविधिक पुग्छन्। टोलीसँगै स्वास्थ्य प्राविधक पनि गाउँ पुगेर मनोवैज्ञानिक परामर्श दिन्छन्।
तपाईँहरूले १० हजार स्वयंसेवक कसरी जुटाउनुभयो?
हामीले मेचीदेखि महाकालीसम्मका पार्टी कमिटिलाई अनुरोध गर्यौ। उहाँहरूले डकर्मी, सिकर्मी सीप जानेका र उनीहरुलाई सघाउनु सक्ने अरू युवाहरू खटाइदिनुभयो।
उदाहरणका लागि नरायणी अञ्चलले मात्र ६ सय स्वयंसेवक दियो। कर्णालीबाट समेत ३५ जाना साथी आउनुभएको छ। अखिल, युवा संघ, मजदूर, पेशागत लगायत जनसंगठनहरुले पनि उल्लेख्य योगदान गरेका छन्। त्यतिमात्र हैन स्वयंसेवक खटाउने तत् तत् कमिटीले नै महिना दिनको खर्च समेत बेहोर्ने भएका छन्।
तपाईँहरूको अभियानको खास काम चाहिँ के हो?
विपद्मा परेका जनताको आवश्यकता धेरै छ। हाम्रो पार्टी च्यानलबाट आएको जानकारी अनुसार आधाभन्दा धेरै पीडितले अझै अस्थायी बसोबास बनाउन सुरू गरेका छैनन्। जनताको अस्थायी आवास बनाउनु नै हाम्रो प्रमुख उद्देश्य हो। भलै हाम्रो प्राविधिक र श्रम सहयोगले केहि हजार घरभन्दा बढि बन्न सक्दैन।
घरबास गुमाएका पीडितले तपाईँहरूबाट पाउने सहयोग के हो?
कम्तीमा दुई वर्षासम्म टिक्ने अस्थायी आवास बनाउन सघाइदिनु नै हाम्रो उद्देश्य हो। हाम्रो प्रमुख सहयोग भनेको श्रमदान हो। जनताको आँगनमा पुगेको १० जनाको टोलीले अस्थायी आवास बनाउन सघाइदिन्छ। भत्केकै घरको ढुंगा, काठपात लगायत सामाग्री प्रयोग गरेर निर्माण सम्पन्न गर्ने प्रयास गरिनेछ।
श्रमदान बाहेक अरू केही सहयोग पनि गर्नुहुन्छ?
मूलत: जनताको दुःखमा सामेल भएर केन्द्रीय नेताले समेत पसिना बगाएर हातमा ठेला उठाएरै श्रम गर्ने कार्यक्रम हो। जनताको आवश्यकता ठूलो छ तर श्रमको अलावा अरु सहयोग गर्न सक्ने गच्छे हाम्रो पार्टीको छैन। तैपनि घर बनाउँदा आवश्यक पर्ने किला, जिआइ तार लगायत सामानहरू भने हामी आफैले लगेका छौं। घर बनाउन खटिने समूहका लागि आवश्यक औजार पनि हामीले पठाएका छौं। कुटो, कोदालो बन्चरो, करौंती, हमर, गैंची, बेल्चा चलाएर घर बनाउन सकिन्छ भन्ने हामीलाई लागेको छ।
तपाईँले भनेअनुसारै गाविस तहमा दुई/चार टोली मात्र पुग्ने देखियो। कसको घर बनाइदिने भन्ने निर्णय कसरी लिने?
स्थानीयसँग सल्लाह गरेरै साथीहरूले निर्णय लिनुहुन्छ। आर्थिक रूपमा दुर्बल र निमुखाहरू स्वभाविक रूपमै प्राथमिकतामा पर्नुहुन्छ। गाउँको समाजले सार्वजनिक काम गर भन्यो भने हामी अस्थायी कक्षा कोठा वा स्वास्थ्य चौकी जस्ता काममा श्रम गर्न पनि उत्तिकै तत्पर छौं।
मन्त्री, सांसद् भइसकेका नेता गाउँ जादा काम कम, भाषण, तामझाम बढी हुने त हैन?
मैले अघि पनि भनिसके यो विपद्को बेला हो। नेताको भाषण वा अर्ती उपदेशले मात्र पीडितको घाउमा मलमपट्टी हुँदैन। त्यसैले हाम्रा स्वयंसेवकले श्रम नै गरेर घर ठड्याएर आउनैपर्छ।
एक महिनामा कति अस्थायी घर बन्ला?
स्वयंसेवक साथीहरु बिहान ८ बजेदेखि नै खट्नुहुन्छ। दश जनाको समूहलाई एउटा अस्थायी आवास बनाउन कति समय लाग्छ त्यसले कूल घर संख्या निर्धारण गर्छ। कामले पूरै मेलो लिइसकेपछि संख्या बताउन सकिएला।
तपाईँहरूले प्राथमिकता दिएको १७ जिल्लाका बासिन्दा आफैं पीडित छन्। स्थानीय नेता कार्यकर्ता कसरी तपाईँको अभियानमा मिसिन सक्छन्?
बाहिरबाट आएका स्वयंसेवक गाउँ पसेर काम गर्न थालेपछि स्थानीय हात बाँधेर बस्दैनन्, काममा भिडिहाल्छन्। श्रम गरिरहेका केन्द्रीय नेता र चिनिएका अनुहारले उनीहरुको उत्साह झन् उकासिन्छ। हिजो अस्तीकै उदाहरण लिउ विष्णु पौडेल र सुरेन्द्र पाण्डे ललितपुर र मकवानपुर खटिनुभएको छ। उहाँहरू कस्सिएको देखेर धेरै संख्यामा स्वयंसेवकले पसिना बगाए।
कुनै गाउँको पीडितलाई तपाईँहरूको श्रम र सिपको सहयोग चाहियो भने उसले कसरि सम्पर्क गर्ने?
अस्थायी घर बनाउन हाम्रो मद्धत चाहने गाउँका पीडीतले एमालेको स्थानीय कमिटीलाई सम्पर्क गर्नुहोस्, हामी खेताला लाग्न आइपुग्छौं। गच्छे नभएको र अति पीडितलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिने प्रयास हाम्रो हुनेछ। हाम्रो सहयोग पाउन एमाले हुनुपर्दैन। स्वयंसेवकले पक्षपात नगरी सेवा दिन्छन्।
यसबीच परोपकारभन्दा पनि प्रचारको हेतुले काम गर्ने व्यक्ति संस्था पनि धेरै देखिए। स्वयंसेवक अभियानको उद्धेश्य के हो?
विपद्मा मनबाट काम गर्नुपर्छ। फेसबुक/ट्विटरमा फोटो राख्ने दाउले हाम्रो अभियान जन्मिएको होइन। प्रचार पाउन कामको स्वाङ गरियो भने त्यो पीडितको भावनाप्रति खेलबाड हुन्छ। हामी कुनै निहित उद्धेश्य हासिल गर्ने अभियानमा पनि छैनौं। फेरि पनि जनताको मनोवल उकास्ने, आशाको सञ्चार गराउने र मनो परामर्शद्वारा उनीहरूलाई नियमित दैनिकीमा फर्काउने प्रयास भने हामी गर्नेछौं। अभियान कति सफल रह्यो, के कस्ता कमजोरी रहे त्यसको रौं चिरा पछी केलाउँला।