नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पर्यटनमन्त्री दीपक अमात्यलाई फिर्ता बोलाउनुको कारणबारे अध्यक्ष केपी ओलीसँग जवाफ माग्ने भएका छन् ।
विना कारण अमात्यलाई फिर्ता बोलाएको भन्दै अब बस्ने स्थायी समितिको बैठकमा अध्यक्षसँग जवाफ मागिने नेपाल समूहका नेताहरुले बताएका छन् ।
यसअघि पनि अध्यक्ष केपी ओलीले आफूखुसी भीम आर्चायलाई मन्त्रीबाट फिर्ता बोलाएको र अहिले पनि सोही मन्त्रालयबाट मन्त्रीलाई फिर्ता बोलाएको भन्दै यस विषयमा जवाफ मागिने सचिव योगेश भट्टराईले जानकारी दिए ।
अमात्यले राजीनामा दिएपछि अध्यक्ष ओलीले कसैसँग छलफल नगरी कृपासुर शेर्पालाई मन्त्री बनाएका छन । यसअघि पनि ओलीले उद्योण मन्त्री कर्णबहादुर थापालाई हटाएर महेश बस्नेतलाई मन्त्री बनाएका थिए ।
अहिले मुलुक विपतमा परेको बेला पार्टीले मन्त्री अमात्यलाई फिर्ता बोलाउने समय नभएको सचिव भट्टराइको भनाइ छ ।
यस विषयमा हामीपनि बैठकमा गम्भिर भएर छलफल गर्छौं उनले भने । स्रोतका अनुसार अहिले नेपाल उड्यन प्राधिकरण, वायु सेवा निगम, विमानस्थल, पर्यटन बोर्ड लगायतका आधादर्जन भन्दा बढी निकायमा राजनीतिक नियुक्ती हुँदैछ । पैसाको चलखेलमा ती निकायमा मानिसहरु नियुक्त गर्न ओलीले मन्त्रीलाई फिर्ता बोलाएका हुन् ।