महाभूकम्पले पुर्याएको क्षतिबारे अवलोकन गर्न गोरखा आएका पूर्वप्रधानमन्त्री तथा कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा।तस्वीर : प्रशन्न पोखरेल/ गोरखा।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले दलहरुबीच एकता कायम गरी देशलाई अघि बढाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन्। सुशील कोइराला नेतृत्वको अहिलेको सरकारलाई राष्ट्रिय सरकारको रुपमा अघि बढाउन सकिने भन्दै उनले कांग्रेसकै नेतृत्वमा सहमतिको सरकार गठन हुने बताए।
१२ बैशाखमा गएको महाभूकम्पले पुर्याएको क्षति र त्यसपछिको अवस्थाबारे अनुगमन गर्न बिहीबार गोरखा सदरमुकाम आएका नेता देउवाले भने, ‘राष्ट्रिय एकताका लागि राष्ट्रिय सरकार आवश्यक छ। हामी त्यसैमा लागिपरेका छौं।' राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नेबारे छलफल भएपनि टुंगोमा नपुगेको देउवाको भनाइ छ। सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे सबै दलहरु एक ठाउँमा बसेर टुंगोमा पुग्नुपर्ने जानकारी उनले दिए।
‘हामी त सुशील कोइरालाकै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न लागिपरेका छौं' प्रेश युनियन गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘नयाँ सरकार गठन गरेर अघि बढ्दा पुनःनिर्माण लगायतका काम गर्न सजिलो हुने देखेका छौं।' देशलाई बिपद् परेका बेला सबै दल एकै ठाउँमा उभिनुपर्ने भन्दै उनले बिपद्मा परेका नेपालीलाई सबै मिलेर सहयोग गर्नुपर्ने बताए।
भूकम्पपीडितहरुलाई राहत बितरण गर्दा भेदभाव गर्न नहुने उनको भनाइ छ। सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, मकवानपुरलगायत जिल्लाको स्थलगत अवलोकन गरेको बताउँदै उनले बिनाशकारी भूकम्पले मानिसहरुको घर ध्वस्त भएको बताए। बाटो, घाटोमा पनि क्षति भएको देउवाको भनाइ छ। ‘खाद्यान्न लगायत राहत अझै भूकम्पपीडितकहाँ पुगेको छैन' उनी भन्छन्, ‘धेरै ठाउँमा पुग्दा मानिसहरुले राहत पनि नपाएको मसंग गुनासो गरेका छन्।' घाइतेको उद्धार गर्ने काम करीब सकिएको भन्दै उनले अस्थायी प्रकृतिका टहराहरु निर्माणमा सबैको सहयोग आवश्यक रहेको बताए।
‘सबै नेपाली एकजुट भएर बिपद्को सामना गर्नुपर्छ' उनी भन्छन्, ‘फेरि हाँसीखुसीको नेपाल फर्काउन एकजुट होऔं।' भूकम्प पीडितहरुले राहत पाए/नपाएको अनुगमन गरेर प्राप्त जानकारी आफूले सरकारलाई जानकारी गराउँदै आएको उनले बताए। देउवाले नेपाली कांग्रेसका जिल्लास्तरीय नेताहरुसंग पनि छलफल गरेका छन्। पार्टी कार्यालय तीनधारेमा सभापति हरिबहादुर घले लगायतका नेताहरुसंग जिल्लाको अवस्थाबारे देउवाले जानकारी लिएका हुन्।
साथै जिल्ला दैवीप्रकोप उद्धार समिति गोरखाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमेल्सेनाले अहिलेसम्मको प्रगति र समस्याबारे देउवालाई जानकारी गराएका थिए। त्यस्तै नेता देउवाले महाभूकम्पले क्षति पुर्याएको गोरखाको गोरखनाथ गुफा, गोरखा दरबार, कालिका मन्दिरको पनि स्थलगत अवलोकन गरेका छन्। नेता देउवा बिहीबार साँझ लम्जुङ्ग जिल्ला पुग्ने कार्यक्रम रहेको कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले बताए।