एकीकृत नेकपा (माओवादी)ले भूकम्पबाट प्रभावित जिल्लामा निर्माणका लागि यही जेठ ८ देखि १५ गतेसम्म ‘राज्य पुनःनिर्माण अभियान’ चलाउने भएको छ।
एमाओवादीको केन्द्रीय कार्यालयमा सोमबा बसेको विस्तारित बैठकले यो अभियान भूकम्प प्रभाववितको उद्धार, राहत र पुनःस्थापनाका लागि सो अभियान सुरु गर्ने निर्णय गरेको हो । बैठकले अभियानको नेतृत्व कसले कहाँ गर्ने भन्नेसमेत विभाजन गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सिन्धुपाल्चोक, वरिष्ठ नेता डा बाबुराम भट्टराईको नेतृत्वमा गोरखा र उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा दोलखा जाने तय भएको एमाओवादी प्रवक्ता दीनानाथ शर्माले बताए।
आगामी केन्द्रीय विस्तारित बैठकमा राज्य पुनःनिर्माण योजना अविलम्ब बनाउन कमिटी निर्माण गर्ने सैद्धान्तिक सहमति भएकोसमेत उनले जानकारी दिए। उक्त अभियानमा ७५ वटै जिल्लाबाट सुत्केरी, रोगी र अशक्त सदस्यबाहेक सबै एमाओवादी कार्यकर्ता स्वयंसेवकका रुपमा भूकम्प प्रभावित जिल्ला जाने निर्णय भएको छ।
एमाओवादीले ७५ वटै जिल्ला समिति, परिषद्, पूर्वलडाकु र वाइसिएलका सबै सदस्यलाई स्वयंसेवकका रुपमा परिचालन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए। राष्ट्रिय स्वयम्सेवक परिचालनका लागि पूर्वडेपुटी कमान्डर वर्षमान पुन, नन्दकिशोर पुन, जनार्दन शर्मा, चन्दप्रकाश खनालसहित तत्कालीन डिभिजन कमान्डरले नेतृत्व गर्ने निर्णय भएको छ ।
अभियानअन्तर्गत प्रारम्भमा उद्धार, राहत र पुनर्वासको व्यवस्था गर्ने, भूकम्पमा परी क्षति भएका विद्ययालयका भवनको पुननिर्माण गरी पठनपाठनको वातावरण व्यवस्था गर्ने र स्वास्थ्य चौकी निर्माणमा सहयोग गर्ने बताइएको छ। रासस