दोलखाका १४ वटा गाविसमा सचिव रिक्त हुँदा भूकम्पपीडितलाई राहत वितरण गर्न कठिनाइ भएको छ।
गाविस सचिव नहुँदा पीडितलाई राहत सामग्री के कसरी वितरण गर्ने भन्ने अन्यौलता बढेको छ। सचिव रिक्त रहेका गाविसमा खारे, क्षेत्रपा, गौरीमुदी, माझापौवा, शैलुङ्गेश्वर, सुरी, नाम्दु, कालिञ्चोक, डाँडाखर्क, ताम्चे दूधपोखरी, लाकुरीडाँडा, खावा, बुलुङ र खोपाचाँगु रहेका छन्।
स्थानीय विकास अधिकारी रेशमलाल कँडेलले बिहीबार जिल्लाको भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि आउनुभएका उपप्रधानमन्त्री एवम् स्थानिय विकास मन्त्री प्रकाशमान सिंह र गृहमन्त्री वामदेव गौतमसमक्ष सचिव रिक्त भएका गाविसमा वैकल्पिक व्यवस्थाका लागि माग गरे।
'चाँडै नै पदपूिर्तका लागि कदम चाल्ने आश्वासन पाएका छौँ,' स्थानीय विकास अधिकारी कँडेलले भने। सचिव अभावमा जिल्लामा एउटै गाविस सचिवले चार/पाँच वटा गाविसको कामकाज गर्दै आएको उनले बताए।
'राहत विरतण गर्न सर्वसाधारणसित समन्वय गर्न गाह्रो हुने गरेको छ,' कँडेलले भने। सचिव उपलब्ध भएका गाविसमा राहत विरतण कार्य सहज रुपमा सञ्चालन भइरहेको छ। सचिव नहुँदा एउटै व्यक्तिले गाउँमा राहत वितरण गर्न गएकाहरुबाट दुई तीन पटकसम्म समेत राहत लिने गरेको पाइएको छ। रासस