अमेरिकी र इजरायली सैनिक सहित नेपाली सेनाका आफ्नै इञ्जिनियर सम्मिलित प्राविधिक टोलीले सेनाको भद्रकालीस्थित जंगी अड्डा, मुख्यालयलाई ‘रेड स्टिकर' ले मार्क गरेको छ। महाभूकम्पका कारण क्षतिग्रस्त भएपछि मुख्यालय सैनिक टुँडिखेलमा पाल टाँगेर सञ्चालन गरिएको छ।
प्राविधिक टोलीले भूकम्पका कारण सैनिक मुख्यालय अगाडिपट्टिको पुरानो भाग धेरै भत्किएपछि नवनिर्माण गर्न सुझाव दिएको छ। सेनाका प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलका अनुसार सैनिक मुख्यालयसहित ४ सय ५३ वटा भवन पुर्ननिर्माण गर्नुपर्ने भएको छ।
सेनाको मुख्यालय कामै नलाग्ने भग्नावशेषमा परिणत भएको छ। सेनाका सैनिक प्राविधिकहरुको प्रारम्भिक प्रतिवेदनका आधारमा ३ सय ९० व्यारेकलाई धेरै ममर्त गर्नु पर्ने भएको छ। त्यस्तै ६ सय ३० व्यारेक भने साधारण मर्मत गर्नु पर्ने छ।
प्रधानसेनापति सहित सेनाका महत्वपूर्ण कार्यालय रहेको मुख्यालय भत्किएपछि यहाँभित्रका अधिकांश कार्यालयलाई सैनिक टुँडिखेलमा पाल टागेर सञ्चालन गरिएको छ। सैनिक मुख्यालय भग्नावशेषमा परिणत भएपछि प्रधानसेनापतिको कार्यालय भने टुँडिखेलस्थित ‘त्रिभुवन आर्मी क्लव’ मा सारिएको छ।
सैनिक प्रवक्ता पोखरेलले भने, ‘प्रधानसेनापति गौरव शमशेर जबराले क्लवमै बसेर महाविपत्ति सामना गर्न सेनाले सञ्चालन गरिएको ‘अपरेसन संकटमोचन’को कमाण्ड कन्ट्रोल गरिरहनु भएको छ। साथै प्रधानसेनापतिबाहेक वलाधिकृत र वलाध्यक्षको कार्यालय पनि क्लवबाटै सञ्चालित भएको छ।'
सेनाको मुख्यालय १९९० सालको महाभूकम्पपछि नवनिर्माणको क्रममा तत्कालिन प्रधानमन्त्री जुद्ध शम्शेर राणाले निर्माण गरिदिएका थिए। उक्त भवनलाई त्यसपछि मर्मत संभार गर्दै नयाँ संरचना जोडदै आएको थियो।
पूर्व प्रधानसेनापति धर्मपालवरसिंह थापाले सेतोपाटीलाई दिएको जानकारी अनुसार २०१७ सालमा निर शम्शेर राणा प्रधानसेनापति भएका बेला जंगी अड्डाको भवनलाई केही मर्मत संभार गरेका थिए। त्यसपछि २०३२ सालमा सिंहबहादुर बस्न्यात प्रधानसेनापति भएका बेला सैनिक मुख्यालयलाई परिमार्जितसहित केही संरचना थपेका थिए।
प्रधानसेनापति निवास ‘शशिभवन' भग्नावशेषमा परिणत
नेपाली सेनाका प्रधानसेनापतिका लागि सरकारले निर्धारण गरेको ललितपुर, झम्सीखेलस्थित निवाससमेत दुई साताअघि आएको महाभूकम्पका कारण भग्नावशेषमा परिणत भएको छ।
८२ बर्षअघि शशि शम्शेर राणाले निर्माण गरेको शशि भवनलाई पछिल्ला दशक प्रधानसेनापतिको सरकारी निवासका रुपमा प्रयोग गरिन्छ।
शशि भवनका रुपमा परिचित प्रधानसेनापति निवासमा बस्ने पहिलो प्रधानसेनापति सिंहबहादुर बस्न्यात थिए। उनले सेनाका कार्यालय भवन र व्यारेकलाई आधुनिकीरण गर्ने कोसिससमेत गरेका थिए। शशिभवनमा पछिल्लो समय प्रधानसेनापति गौरव शमशेर जबराले प्रयोग गरिरहेका छन्।
वैशाख १२ गते प्रधानसेनापति राणा पाकिस्तानी सेनाको निमन्त्रणामा पाकिस्तान भ्रमणमा जाने तयारीमा थिए। प्रधानसेनापति राणा आफनो निवास भत्किएपछि पालमा बसिरहेका छन्।