मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले भूकम्पपीडित परिवारबीच राहत प्रदान गर्नेलगायत कार्यका लागि सबै राजनीतिक दल ऐक्यबद्ध भएर लाग्नुपर्ने बताएका छन्।
विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले आजै संसद्मा साझा सङ्कल्प प्रस्ताव प्रस्तुत हुने जानकारी गराएका हुन्। सो प्रस्तावको माध्यमबाट एउटा उच्चस्तरीय प्रभावशाली संयुक्त संयन्त्र गठन गरी त्यसलाई राहत वितरण, पुनःसंरचनालगायत कार्यको स्थलगत निरीक्षण र मूल्याङ्कनलगायत अधिकार प्रदान गर्नुपर्ने सुझाव उनले दिएका थिए।
भूकम्पपीडित परिवारको उद्धार र राहत वितरणमा विदेशी मुलुकका साथै विभिन्न दातृनिकायको भूमिका प्रशंसनीय रहेको र प्राप्त सहयोगलाई व्यवस्थित ढङ्गले सदुपयोग गर्नुपर्नेमा सबै सजग हुनुपर्ने उनले औँल्याए।
दुर्गम क्षेत्रका कतिपय पीडित परिवारबीच अहिलेसम्म राहत नपुगेको उल्लेख गर्दै उनले वर्षायाम नजिकिएकाले घरवारविहीन परिवारलाई अविलम्ब जस्तापाता उपलब्ध गराउन सरकारसँग माग गरे। उनले भने–“ संविधान निर्माणको प्रक्रियालाई थाती राखेर यतिखेर सबै पीडित परिवारलाई पुनःस्थापनातर्फ केन्द्रित हुनुपर्छ ” । रासस