गत शनिबार गएको विकाशकारी महाभूकम्पका कारण राज्यका मूख्य कार्यकारी प्रमुखदेखि कतिपय संवैधानिक निकाय कार्यालय विहिन भएका छन्। जसका कारण ती कार्यालयले आफ्नो दैनिक कार्यसम्पादन खुला आकाशमुनी टेण्ट राखेर गर्दै आएका छन्।
मुलुककै प्रमुख प्रशासनिक केन्द्र प्रधानमन्त्री कार्यालय रहेको भवन भुकम्पको कारण चर्किदा प्रधानमन्त्री सुशील कोइराला आफ्नो कार्यालयमा अहिलेसम्म गएर कार्यसम्पादन गर्न सकिरहेका छैनन्। त्यस कार्यालयमा कार्यरत कर्मचारीले सिंहदरबार परिसरमा टेण्टमा बसी कार्यसम्पादन गरिरहेका छन्।
जाकर्ता भ्रमण छोट्याएर आइतबार नेपाल फर्के लगत्तै कार्यालय परिसर निरीक्षण गरी गृहमन्त्रालयमा रहेको एक भवनमा उनले मन्त्रिपरिषदको आपतकालिन बैठक राखेका थिए।
भूकम्पले पारेको असरपछि शहरी विकास तथा भवन निर्माण विभागले सरकारी कार्यालयहरुको अवस्थाका बारेमा अध्ययन गर्न खटाइएको प्राविधिकको टोलीले कतिपय भवनमा बस्न नमिल्ने भन्दै रातो स्टिकर लगाईदिएको छ।
विभागका सिनियर डिभिजिनल इन्जिनियर मचाकाजी महर्जनका अनुसार बुधबारसम्ममा विभागबाट खटिएका प्राविधिकहरुले सिंहदरबार परिसरमा रहेका भवनहरुसहित उपत्यकाका २ सय १९ भवनको निरीक्षण गरेको थियो। निरीक्षणलाई तीन समूहमा वर्गिकरण गरेको छ।
अहिलेसम्म भक्तपुरका सबै सरकारी कार्यालयको प्राविधिक अध्ययन सकिएपनि काठमाडौं र ललितपुरमा रहेका कतिपय सरकारी कार्यालय भवनको अध्ययन बाँकि रहेको उनले बताए।
‘प्राविधिक टोलीले गरेको अध्ययन पश्चात राष्ट्रपति भवन, उपराष्ट्रपति भवन र प्रधानमन्त्री कार्यालय भवनका केही भाग बाहेक अरु क्षेत्रमा हरियो स्टिकर टाँसिएको छ,' महर्जनले भने।
प्रधानमन्त्री कार्यालय सिंहदरबारको केही भागमा अलि बढी क्षति पुगेको कारण त्यहाँ नजान भनिएपनि अरू भागमा खतरामुक्त संकेतको रूपमा हरियो स्टिकर टासिएको हो उनले भने।
रक्षा मन्त्रालय रहेको भवन बढी क्षतिग्रस्त भएपछि त्यहाँ रातो स्टिकर टासिएको छ। त्यसैगरी सिंहरदबारभित्रै रहेका राणाकालिन भवनहरूका अन्य दुई मन्त्रालय खेलकूद र श्रम तथा बैदेशिक रोजगार मन्त्रालयको खतरापूर्ण अवस्थामा रहेको भन्दै रातो स्टीकर टाँसिएको छ। यस्तै भने सामान्य प्रशासन मन्त्रालयमा पहेलो स्टिकर टाँसिएको छ।
उनले राष्ट्रपतिको कार्यकक्ष, टिभी रूम र उत्तरी भागमा अलि बढी क्षति पुगेकोले त्यहाँ जान निषेध गरिएको भएपनि अन्य भागमा हरियो स्टिकर टासिएको बताए।
‘पुरानो कार्यकक्षमा क्षति पुगेको कारण परिसरमा बनेको नयाँ भवनमा राष्ट्रपतिको कार्यालय सारिएको छ र अन्य प्रशासनिक कार्यहरु यथावत रूपमा सञ्चालन हुँदै आएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने।
निर्वाचन आयोगको कार्यालयसँगै रहेको उपराष्ट्रपतिको भवनमा हरियो स्टिकर टासिएको भएपनि आयोग कार्यालयको भवनको कतिपय भागमा अलि बढी क्षति पुगेको कारण प्राविधिक टोलीले पहेलो स्टिकर टाँसेको छ।
सर्वोच्च अदालत भवनमा प्राविधिक टोलीले बस्न नमिल्ने भन्दै रातो स्टिकर टाँसेको महर्जनले बताए।
‘भूकम्पको कारण भवनमा देखिएको असरपश्चात सर्वोच्च अदालतका दैनिक प्रशासनिक कार्य लगायत तारेख बुझ्ने काम सर्वोच्च अदालत परिसरमा रहेको एनेक्स भवनबाट हुँदै आएको छ,’ अदालतका कायम मुकायम रजिष्टार श्रीकान्त पौडेलले भने।
नेपाली हिन्दुहरूको महान चाड दशैंविदाको समयमा पनि न्यायसम्पादनका कार्यहरू निरन्तर रूपमा गर्दै आएको सर्वोच्च अदालतले १३ गतेदेखि यता न्यायसम्पादन कार्यलाई स्थगित गरेको छ।
भवनमा भएको क्षतिका कारण इजलास राख्ने स्थान नहुँदा २७ गतेसम्मका लागि इजलास स्थगित गरिएको हो। पौडेलले भने, ‘त्यसपछि पनि इजलास राख्ने कार्यालय भवनको व्यवस्था नभएको अवस्थामा इजलास कहिलेदेखि सञ्चालन गर्ने टुंगो छैन।’
महर्जनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवनमा कुनै समस्या नदेखिएको कारण हरियो स्टिकर टाँसिएको भए पनि लोकसेवा आयोगको कार्यालय भवनको अवस्था प्राविधिक टोलीले अध्ययन गर्न बाँकि छ।
प्रारम्भिक अध्ययनमा नेपाली सेनाको मुख्यालय रहेको भवनमा धेरै क्षति भएको देखिएपछि अहिले प्रधानसेनापतिदेखि मुख्यालयमा रहेका अन्य कार्यालयसम्म भूकम्प पीडितहरुको खोजी, उद्दार तथा राहत वितरणको कार्यसमेत कार्यालय परिसरमा राखिएका टेण्टबाट सञ्चालन हुँदै आएका छन्।
त्यसैगरी नेपाल प्रहरीको प्रधान कार्यालयका भवन पनि चर्केपछि प्रहरी प्रमुखदेखि प्रधानकार्यालयका अन्य दैनिक प्रशासनिक तथा अन्य कार्यहरु टेण्टमुनी बसेर सञ्चालित हुँदै आएका छन्।
‘सेना र प्रहरीको आफ्नै प्राविधिक टोली भएको कारण त्यी निकायका भवनहरू सम्बन्धित निकायकै प्राविधिक टोलीले गर्छ,’ महर्जनले भने।
सेनाका प्रवक्ता जगदिशचन्द्र पोख्रेलले प्राविधिक टोलीले आफ्नो निकायका कार्यालय भवनहरुको अध्ययन गर्ने कार्य गरिरहेकेाले त्यी भवनहरु कुन समूहमा पर्छन अहिले नै भन्न नसकिने बताए।
मुलुकभरका १० हजार ७ सय ६१ सरकारी भवन पूर्णरुपमा र १४ हजार ८ सय ४ भवनमा आंशिक क्षति भएको प्रारम्भिक अनुमान छ। निजी तर्फ २ लाख ८४ हजार ४ सय ५५ घर पूर्ण रुपमा र २ लाख ३४ हजार १ सय २ घरमा आंशिक क्षति पुगेको छ।