शनिबार गएको विनाशकारी महाभुकम्पको कारण देशको विभिन्न भाग भएको धनजनको क्षतिमा उद्धार तथा राहतकार्यमा राजनीतिक दल र सभासदहरुको सहभागिताबारे परामर्श गर्न सभामुखले सर्वदलीय बैठक डाकेका छन्।
सभामुख सुवासचन्द्र नेम्वाङले आइतबार अपरान्ह ४ बजेका लागि सबै राजनीतिक दलका शीर्ष नेता र मुख्य सचेतकहरुलाई सर्वदलीय बैठकमा आमन्त्रण गरेका थिए। तर विदेश भ्रमण छोट्याएर स्वदेश आइतबार अपरान्ह राजधानी आइपुगेका प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिपरिषदको बैठक लगत्तै डाकेको सर्वदलीय बैठकको समय जुध्न गएपछि सभामुखले सोमबार बिहान ११ बजेका लागि बैठकको समय मिलाएका हुन्।
संविधानका विवादित विषयमा दलहरुलाई १७ गतेसम्म सहमति खोज्न र नभएमा सोही दिन अपरान्ह ३ बजे बस्ने संविधानसभाको बैठकमा प्रक्रिया अघि बढाउने घोषणा गरेका सभाध्यक्षले आजको बैठकमा नेताहरुसगँ सो दिनको बैठक कसरी अघि बढाउने कि विसम परिस्थितिका कारण सूचना प्रकाशित गरी स्थगित गर्ने भन्ने विषयमा पनि रायसल्लाह लिने स्रोतले बताएको छ।