भारतका समस्याले घेरिएका प्रतिपक्षी नेता राहुल गान्धीले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीको भूमि खरिदसम्बन्धी कानुनमा संशोधन गर्ने विवादास्पद पाइलाको विरोधमा राजधानीमा हजारौँ क्रुद्ध किसानको भेलालाई नेतृत्व दिएका छन्।
नयाँ दिल्लीमा सरकारको विवादास्पद भूमिसम्बन्धी कानुनको विरोधमा आयोजित भेलामा कङ्ग्रेस नेता गान्धीले प्रधानमन्त्री मोदी सङ्घर्षरत किसानको खर्चमा ठूला व्यापारीप्रति कृतज्ञ भएको आरोप लगाएका हुन्।
गान्धीले भीडलाई प्रधानमन्त्री मोदीले किसानलाई आफ्नो भूमि बेच्न बाध्य बनाउने गरी कमजोर बनाउन चाहेको बताए।
सेतो लुगामा कङ्ग्रेस पार्टीको झण्डा फहराउँदै हजारौँ किसान उक्त विधेयकको विरोधमा दिल्लीमा भेला भएका छन्। उक्त विधेयकले व्यापारका लागि कृषिभूमि खरिद गर्न सजिलो बनाउनेछ।
उक्त विरोध प्रदर्शन आरम्भ हुनुअगाडि नै प्रधानमन्त्री मोदीले भारतको दशौँ लाख गरिबलाई सहयोग गर्ने सरकारको पाइलाको बलियो रूपमा प्रतिरक्षा गरे। उनले आफ्नो सरकारले उच्च मुद्रास्फीति घटाएको दाबी गरे।
उनले भारतीय जनता पार्टीका सांसदहरूको एक भेलालाई सम्बोधन गर्दै आफ्नो सरकार गरिबका लागि भएको र आफूहरू गरिबप्रति समर्पित रहेको बताए।
उनले आफूहरूले जे कुरा गरे पनि प्रतिपक्षले त्यसलाई मोड्ने गरेको अरोप लगाए ।
गत वर्ष निर्वाचनमा शासनमा पुगेपछि प्रधानमन्त्री मोदीले अर्थतन्त्रमा सुधार गर्ने बचन दिएका थिए। प्रधानमन्त्री मोदीले कारखानाका लागि भूमि खरिदको प्रक्रियालाई प्रभावकारी बनाउन, उद्योग क्षेत्र स्थापना गर्न तथा अन्य विकास परियोजना स्थापना गर्न यो विधेयक आवश्यक भएको बताए।
राष्ट्रिय निर्वाचनमा किसानहरू मोदीको बीजेपीको पक्षमा देखिएका थिए । उक्त विधेयकका विरोधमा दुर्गमक्षेत्रमा क्रोध बढेको छ र उनीहरूले सरकारले ठूला व्यापारको पक्षमा ऋणले थिचिएका किसानको पीडा बढाएको आरोप लगाएका छन्। भारतमा हालै बेमौसमको वर्षाका कारण बाली नष्ट भएको छ र धेरै किसानले निकै पीडा भोग्नथालेका छन् ।
कङ्ग्रेस पार्टीले राष्ट्रिय रूपमा टेलिभिजनमा प्रसारित यस कार्यक्रममा हजारौँ समर्थक परिचालन गरेको छ । यसबाट ४४ वर्षीय गान्धीलाई पार्टीको बलियो प्रमुखको रूपमा पुनः प्रस्तुत गर्न र आफ्नी आमालाई पार्टी प्रमुखको पदबाट प्रतिस्थापन गर्न अवसर प्राप्त हुने अनुमान गरिएको छ ।
भारतमा संसदको बैठक सोमबारदेखि आरम्भ हुनेछ र माथिल्लो सभामा पर्याप्त सङ्ख्या नपुगे पनि यस विधेयकलाई सरकारले अगाडि बढाउने अपेक्षा गरिएको छ ।
गत वर्षको राष्ट्रिय निर्वाचनमा अपमानपूर्वक रूपमा पराजित भएको र त्यस पछिको अनेकौँ निर्वाचनमा पराजित भएको कङ्ग्रेसले यस क्रोधलाई उपयोग गर्न चाहेको छ ।
गान्धी दुई महिनासम्म आफ्नो पार्टीको पराजयको कारणका विषयमा चिन्तन गर्न बिदा बसी फर्केको केही दिनपछि उनले उक्त सम्बोधन गरेका हुन्। निर्वाचनको पराजयलाई उनको नेतृत्वको क्षमताप्रति ठट्टा गर्न उपयोग गरिएको छ ।
राहुल गान्धीलाई प्रायः उनको ख्यातिप्राप्त परिवारमा अनिच्छुक तथा एकान्त मनपराउने सन्तानको रूपमा हेरिएको छ । यस परिवारमा उनका बाबु, हुजरआमा तथा बुढा हजुरबुबा सबै प्रधानमन्त्री बनेका थिए।
भारतको उत्तरी राज्यहरूबाट बसमा ल्याइएका प्रदर्शनकारीहरूले भरिएको रामलिला मैदानमा गान्धी आफ्ना नेता भएको नारा लगाएका थिए । भीड नियन्त्रण अधिकारीहरूले भेलामा करिब एक लाखको सङ्ख्यामा जनता देखिएको जानकारी दिएका छन् ।
यस विधेयकले प्रतिरक्षा, ग्रामीण आवास, ऊर्जा, उद्योग क्षेत्रका लागि भूमि प्राप्त गर्न यसअघि लगाइएको प्रतिबन्ध हटाएको छ । हाल यस्तो भूमि प्राप्त गर्न कम्तीमा ८० प्रतिशत भूमिपति आफ्नो भूमि बेच्न सहमत हुनुपर्ने व्यवस्था छ ।
यस्तो विषयमा भूमि बेच्नुपर्दा कति व्यक्ति प्रभावित हुनेछन् भन्ने सामाजिक प्रभाव अध्ययन गर्नुपर्ने आवश्यकता पनि हटाइएको छ ।
व्यापारिक समुदायले वर्तमान आवश्यकताले परियोजना स्थापना गर्न वर्षौँ लाग्नसक्ने आरोप लगाएका छन् । सरकारले पनि यस कानुनमा सुधार गर्न र आर्थिक वृद्धिलाई सहयोग गर्न चाहेको छ ।
भूमिप्राप्ति सम्बन्धी विधेयक अगाडि बढाउने काममा विपक्षी दलले संयुक्त रूपमा बाधा दिएका छन् ।
सरकारले भूमिप्राप्त गर्ने विषयमा अस्थायी आदेश – अध्यादेश जारी गरेको छ तर कानुनमा स्थायी रूपमा व्यवस्था गर्न संसदको स्वीकृति आवश्यक छ । रासस/एएफपी