प्रधानमन्त्री सुशील कोइरालाले काठमाडौं –५, कालोपुल निवासी सुबीरनाथ खनाललाई आफ्नो राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन्।
विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय खनाल २०३२ सालको विद्यार्थी आन्दोलनको केन्द्रीय स्तरको नेतृत्वमा रहेका थिए।
२०३४ सालमा त्रिभुवन विश्वविद्यालयको सहायक प्राध्यापक रहेका खनाल २०३६सालको जनमत संग्रहमा प्युठान जिल्लामा खटिदा बहुदलको प्रचार गरेको अभियोगमा निर्वाचन आयोगले फिर्ता बोलाएको थियो।
उनी नेपाली कांग्रेसका तात्कालिन नेता गिरिजाप्रसाद कोइरालाको समिपमा रही तरुण पत्रिका लगायत नेपाली कांग्रेसका अन्य प्रचार सामाग्री निर्माण र वितरणमा संलग्न रहेका थिए। उनी २०४६ सालको जनआन्दोलनमा कर्मचारीको नेतृत्व गरी आन्दोलनमा सहभागी भएका थिए।
२०४८ सालमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिव रहेका खनालले तात्कालिन अवस्थामा राजसंस्थामा रहेको शक्तिलाई जननिर्वाचित प्रधानमन्त्रीमा हस्तान्तरण गर्न सफल भूमिका निर्वाह गरेका थिए।
नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका खनाललाई पार्टीका तात्कालीन महामन्त्री सुशील कोइरालाले पार्टीको केन्द्रीय प्रशासन विभागको जिम्मेबारी पनि दिएका थिए।
खनालले एम एस्सी,एम पी ए र प्राकृतिक प्रकोप व्यवस्थापन र नियन्त्रणमा अक्स्फोर्डमा स्नातकोत्तर गरेका छन्।