केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्यको कारण देखाउँदै पार्टीको स्थायी समितिको बैठक आफ्नै निवास बालकोटमा बोलाएपछि पार्टीकै कतिपय नेताले विरोध गरेका थिए। अस्वस्थ्य भनिएका तिनै ओली सोमबार धरहरा चढ्ने भन्दा धेरैलाई आश्चार्य लाग्यो।
अपरान्ह चार बजे धरहरा चढ्ने भनी पठाएको निम्तो अनुसार धेरै सञ्चारकर्मी धरहरा पुगे। ओली निर्धारित समयमा आएनन्। आफूलाई कुराएको देखेर कतिपय सञ्चारकर्मी शंका गरे– झुक्काएका त होइनन्। शंका चिर्दै पौने पाँच बजे ओली केही सभासद्सहित सुन्धारा पुगे।
सर्वसाधारणपनि धरहरा चढ्ने र झर्नेक्रम जारी थियो। सञ्चारकर्मीले घेरिएका अनि माथिबाट झरिरहेकाहरुका कारण उनी सरासर माथि जान पाएन्। धरहराकै फेदमा एक फन्को लगाए। चढ्न भनेर द्वारमा भित्र छिरेका मात्रै थिए उनका सहयोगीले सोधे – केही हुने हो की? ओलीले ती सहयोगीलाई हेर्दै सोधे– के हुन्छ र? उनले मास्क लगाए र खुडकिला चढ्न खुट्टा उचाले।
ती सहयोगी भन्दै थिए– खोकी लाग्छ, दम बढ्ने हो कि? ओलीले सुनेको नसुनेझैं गरिदिए।
ओली दोस्रो पटक धरहरा चढन लागेका रहेछन्। करिब पाँच वर्षअघि उनी पहिलो पटक धरहरा चढेका थिए।
मुस्किलले दोहोरो आउजाउ गर्न सकिने धरहराका सिडीमा चढेर झर्ने सर्वसाधारण पनि थिए। सञ्चारकर्मी र ओलीका सहयोगीले बाटो छेकेपछि उनीहरु बिचमै थुनिए। कतिले त उनलाई चिनेनन्। केहीले चिने। आफूसँग भएको मोबाइलमा उनीसँग ‘सेल्फी’ खिच्न पनि भ्याए।
करिब १०० खुट्किला चढेपछि काखे बालक बोकेर ओर्लदै गरेकी एक महिलाले पनि ओलीलाई चिनिन्। उनले व्यंग्य कस्दै भनिन्– देश चलाउन सजिलो छ, धरहरा चढ्न पो गाह्रो छ त। ओलीले जवाफ फर्काएनन्। पछाडि रहेका एक नेताले भने–नेतालाई भेट्यो कि उडाउन थालिहाल्छन् है जनता अचेल।
केही माथि पुगेर उनी पछाडि फर्किए। ‘गाह्रो भयो कि, हजुर’ सहयोगीले सोधे। ‘हैन, मैले राजनलाई हेरेको’, ओलीले भने। अघि गाह्रो हुन्छ कि भनेर सोध्ने राजन भट्टराईलाई ओलीले पनि ब्यंग्य हाने।
सिडिमा फोहोर नगर्ने सूचनासहित कतिऔं खुटकिलामा चढियो भन्ने पनि जानकारी लेखिएको छ। १ सय ५० खुडकिला उक्लेपछि एक सहयोगीले भने– आधा सकिएछ हजुर। धरहाराका ९ तलामा २ सय १३ ओटा खुड्किला छन्। अर्का सहकर्मीले खुड्किलालाई क्रिकेटको रनमा बदले एक सतक र अर्धसतक हानिएछ।
करिब १२ मिनेटमा ओली १ सय ८८ खुटकिला पार गरेर सातौं तलामा पुगे। त्यहीँबाट बाहिर निस्करे काठमाडौं उपत्यका हेर्न सकिन्छ। दिनभरी परेको पानीले काठमाडौंको वातावरण खुलेको थिएन। ओलीले सातौं तलालाई एक फन्को लगाए। सहयोगी र सञ्चारकर्मीले घेरिएका उनी त्यसपछि बाँकी रहेका २ तलाका २५ खुटकिला चढे।
नवौं तलामा मन्दिर छ। तर, ओलीले पूजा गरेनन्। अन्य नेताको फोटो सेसन भने पाँच मिनेटभन्दा बढी चल्यो।
त्यसपछि उनी ओर्लिन थाले। सुरक्षाकर्मीले पत्रकारलाई पहिले नै तल जान भनिसकेका थिए। ओली सात तलाबाट फेरि बाहिर निस्किए। भीड कम थियो। सहयोगीसँग काठमाडौं नियाले। ‘कस्तो भएछ है’, उनले भने।
एक फन्को घुमेर फोटो सेसन गरेपछि उनी ओर्लन थाले। अरु नेता पनि थकाइ लागेको भावभंगी देखाइरहेका थिए। केहि खुटकिला झरिसकेपछि ‘गाह्रो भयो होला है?’, भन्ने यस संवाददाताको प्रश्नमा ओलीले भने–अहिले केको गाह्रो हुनु नि, बुढेसकालमा पो गाह्रो हुन्छ होला त! ओली अहिले ६३ वर्षका भए।
उनी विस्तारै ओर्लदै थिए। सहयोगीले तलमाथि दुई हात समाएका थिए। एक महिला नेतृले सोधिन् –हजुरलाई चढ्न भन्दा झर्न गाह्रो भए जस्तो छ। ओलीले आफ्नै शैलीमा उत्तर फर्काए– एमालेजस्तो उकालो चढ्न पो गाह्रो, एमाओवादीजस्तो ओह्रालो झर्न के गाह्रो!
चढ्न सुरु गरेको करिब ४५ मिनेटमा ओली फेदमा पुगे। छेउमा भएको कुर्सीमा बसे। त्यतिबेला कसैले बाहिरबाट भन्यो –धरहरा चढ्नु भो बधाई छ। देशलाई पनि विकासको धरहरामा चढाउनु होला। नयाँ वर्षको शुभकामना।
बाहिर निस्केर ओलीले हात हल्लाए। धरहरा चढ्नुका कारण नयाँ वर्ष २०७२ मा देशपनि धरहराजस्तै उचाइमा पुग्ने संकेत भएको बताए। यही वर्ष लोकतान्त्रिक संविधान बन्ने र संक्रमणकालको अन्त्य हुने औल्याउँदै त्यसकालागि सबैले उच्च सोच राख्नुपर्ने बताए।
धरहराबाट देखेको काठमाडौंलाई सफा, स्वच्छ राख्नुपर्ने, मेलम्चीको पानी तत्काल ल्याउनुपर्ने र युवालाई रोजगार दिएर सुन्दर काठमाडौं बनाउनु पर्ने पनि बताए।
धरहरा बाहिर राखिएका कुर्सी बसेर ओलीले अन्य नेतासँग गफगाफ गरे। ‘बिरामी भएर घरमै पार्टीको बैठक डाक्नुभएको तपाई कसरी धरहरा चढ्न सक्नुभयो?’ भन्ने संवाददाताको प्रश्नमा उनले भने– त्यतिबेला पो बिरामी थिएँ। अहिले तन्दुरुस्त भइसकेँ। ताकत भएकैले धरहरा चढ्न सकेको उनले बताए।
‘धरहराबाट झर्नभन्दा उक्लन नै गाह्रो भएजस्तै देशलाई पनि विकासको उचाइमा पुर्याउन गाह्रो छ’ उनले भने।
यसोभन्दा उनले तिनै बालक बोकेकी महिलाको व्यंग्यको जवाफ फर्काइरहेका थिए– धरहराको उचाइमा चढ्नुभन्दा देशलाई विकासको उचाइमा पुर्याउन पो गाह्रो छ।