सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी र सेवाग्राहीका बीचमा बिचौलियाको प्रवेश नगराउन मालपोत कार्यालय कलङ्कीलाई निर्देशन दिएका छन्।
मालपोत कार्यालय कलङ्कीले सेवाग्राहीलाई प्रदान गरिरहेको सेवाका बारेमा जानकारी लिन सोमबार प्रशासन सुधार सुझाव समितिका अध्यक्ष काशीराज दाहालका साथ आकस्मिक छड्के निरीक्षण गर्दै उहाँले सेवाग्राही र सेवा प्रदायकका बीचमा सीधा सम्पर्क हुनुपर्ने, र बिचौलियाको भर पर्न नहुने निर्देशन दिएका हुन्।
कार्यालयमा पुस १ गतेदेखि लागू भएको बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्मको कार्य समयको सहजता र जटिलताका विषयमा अनुगमन गर्न मन्त्रालय र समितिको टोली कसैलाई जानकारी नै नदिई कार्यालयमा पुगेको थियो।
कार्यालयको सेवा प्रवाहका विषयमा निरीक्षण गर्दै मन्त्री पण्डितले भने, ‘बाह्र घन्टे कार्य समय लागू गर्दा दुई समूहमा कर्मचारीको व्यवस्था गरिनुपर्छ, एकै समयका कर्मचारीबाट बिहानदेखि बेलुकासम्म काम गराउन न्यायोचित हुँदैन।’
समितिका अध्यक्ष दाहालले दुई समूहमा कार्यालय सञ्चालन गर्दा कर्मचारीको अभाव देखिएकाले तत्काल आवश्यक मात्रामा कर्मचारी उपलब्ध गराउन मन्त्रालयका तर्फबाट पहल गरिने जानकारी दिए। टोलीले कार्यालयमा सेवा लिन आएका सेवाग्राहीसित प्रत्यक्ष कुराकानी गरी सेवाग्राहीका समस्याबारे जानकारी लिएको थियो। रासस