राप्रपा नेपालले ९ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनको जीवन रक्षाका लागि सरकारसँग माग गरेको छ।
राप्रपा नेपाल केन्द्रीय कार्य समितिको आजबाट विराटनगरमा सुरु भएको बैठकले डा. केसीको आन्दोलनबारे पार्टीको धारणा प्रष्ट पारेको हो। बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ- चिकित्सा शिक्षाको व्यापारिकरणविरुद्धमा त्रिविका शिक्षण हस्पिटलका प्रा.डा. गोविन्द के.सीले गर्नु भएको अनशनप्रति यो बैठक ऐक्यवद्धता प्रकट गर्दछ।
तीन दिन चल्ने बैठकले व्यवस्थापिका संसदको बैठक अविलम्ब अह्वान गर्नसमेत माग गरेको छ। ‘व्यवस्थापिका संसदको अधिबेशन साधारयणतया वर्षको दुईपटक बस्नु पर्ने संवैधानिक व्यवस्था र परम्परा रही आएको छ। तर अहिलेसम्म व्यवस्थापिका संसदको हिउँदे अधिवेशन नबोलाइएकोमा राप्रपा नेपाल खेद प्रकट गर्दछ,’ सोमबारको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘कतिपय विधेयकहरू संसदमा अलपत्र रहेको तथा महँगी, शान्ति सुरक्षा, बेरोजगारी, लोडसेडिङ, बलात्कार, हिंसाजस्ता जनसरोकारका विषयहरूको संवेदनशीलतालाई दृष्टिगत गर्दै अविलम्ब व्यवस्थापिका संसदको बैठक आब्हान गर्न यो बैठक माग गर्दछ।’
बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीति र भावी कार्यदिशासम्बन्धी राजनीतिक कार्यपत्र प्रस्तुत गरेका छन् भने सहअध्यक्ष केशरबहादुर विष्टले राप्रपासँग जारी एकता वार्ता प्रक्रियाबारे बैठकमा जानकारी गराएका थिए। बैठकमा महामन्त्री चन्द्रत्बहादुर गुरुङले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन, क्षेत्रीय संयोजक र अञ्चल संयोजकहरूले क्षेत्रगत र अञ्चलगत प्रगति विवरण एवं भ्रातृ संगठनको प्रमुखहरूले सांगठनिक प्रगति विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका छन्। ती कार्यपत्रहरूमाथि आजैबाट छलफल सुरु भएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले बताए।