एमाओवादी नेतृत्वको विपक्षी गठबन्धनले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभाको बैठक डाक्नु उचित नभएको निष्कर्ष निकालेको छ।
एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको संघीय गणतान्त्रिक मोर्चामा आबद्ध एमाओवादी र मधेसवादी ६ दलका शीर्ष नेताहरूको बैठकले सभाध्यक्षले राम्रो निर्णय नगरेको ठहर गरेको हो।
‘हामीले सहमतिका आधारमा संविधान जारी गर्नुपर्छ भनिरहेको बेला सभाध्यक्षले बैठक डाकी प्रक्रियाको बाटोतर्फ जाने काम गर्नु गलत हो,’ बैठकपछि सेतोपाटीसँग कुरा गर्दै मधेसी जनअधिकार फोरक लोकतान्त्रिकका नेता रामजनम चौधरीले भने।
माघ २९ गते प्रश्नावली तयारी समितिले प्रतिवेदन पेस गरेपछि सकभर दलहरूबीच विवादित विषयमा सहमति हुनसक्ने अवस्थासम्म समय दिन भन्दै सभाध्यक्षले संविधानसभा बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए। पछिल्लोपटक उनले दिएको म्यादसमेत गुज्रिएपछि आजै अपराह्न चैत २३ गते १ बजे बैठक बस्ने सूचना जारी गरेका छन्।
राजनीतिक दलका नेताहरूलाई पटक-पटक सहमतिका लागि आग्रह गरे पनि दलहरूले वार्ताद्वारा सहमति जुटाउन गम्भीर भएर नलागेको र पछिल्लो समय उनीहरूबीच सहमतिको निम्ति वार्ता सकारात्मक दिशातर्फ उन्मुख नभएपछि थप समय पनि माग नगरेपछि सभाध्यक्षले बाध्य भएर बैठक डाकेको संविधानसभा सचिवालयले बताएको छ।
त्यसका बाबजुद पनि दलहरूबीच बैठक बस्ने मितिपूर्व पनि वार्ता र संवादद्वारा सहमति हुन सक्ने भन्दै सभाध्यक्षले २३ गतेको बैठकको अग्रिम कार्यसूची केही प्रकाशित गरेका छैनन्।
विवादित विषयमा प्रक्रियाद्वारा अघि बढ्ने प्रस्तावको विपक्षमा उभिँदै संविधानसभा र संसदीय समितिको समेत बैठक माघ १४ गतेदेखि फागुन १६ गतेसम्म बहिष्कार गर्दै आएको एमाओवादी नेतृत्वको गठबन्धनले आगामी २३ गतेको संविधानसभा बैठकमा सहभागी हुने-नहुने विषयमा सोमबार मात्रै निर्णय गर्ने जनाएको छ।
नेता चौधरीका अनुसार, सोमबार दिउसो ३ बजे बस्ने ३० दलीय गठबन्धनको निर्णयपछि मात्रै संविधानसभा बैठकमा भाग लिने-नलिने टुंगो लाग्ने छ। तथापि सहमतिका आधारमा संविधान नबन्ने अवस्थामा आफूहरूको गठबन्धन संविधानसभा बैठकमा सहभागी हुने सम्भावना कम रहेको उनले बताए। बरु एमाओवादी गठबन्धनले आन्दोलन थप चर्काउने आजको बैठकको निर्णय सुनाउँदै अहिलेसम्मको आन्दोलन सफलतापूर्वक सम्पन्न भएको दाबी गरे।
यसैबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरूको बैठकले एमाओवादीलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ता र संवादमार्फत् सबै विषयमा अधिकतम सहमति खोज्न आग्रह गरेको छ।
दुई दलको बैठकपछि कांग्रेस सभासद रमेश लेखकले जनाएअनुसार कांग्रेस र एमालेले एमाओवादी र मधेसवादी दललगायत गठबन्धनलाई आन्दोलन छाडी संविधान निर्माण कार्यमा सहभागी भई सहमतिका लागि निरन्तर वार्ता र संवादमा जोड दिन आग्रह गरेको छ।
सभाध्यक्षले सूचना जारी गरी बैठक डाकेको विषयमा लेखकले संविधानसभाको बैठक डाक्ने विषय सभाध्यक्षको स्वविवेकीय अधिकारमा भर पर्ने बताए।