सिचाईँ मन्त्री नारायणप्रसाद (एनपी) साउदले कन्काई नहरको बाँध अतिक्रमण गरेर निर्माण गरिएका शौचालय पन्ध्र दिनभित्र हटाउन स्थानीयवासीलाई उर्दी दिएका छन्। उनले दिएको समय सीमामा पनि नहटाईए पुलीस लगाएर भएपनि हटाउन मातहतका कर्मचारी र समितिलाई निर्देशन दिएका हुन्।
समितिले पटक पटक ताकेता गर्दापनि अटेर गरेका स्थानीयलाई शनिबार सिचाईँ मन्त्री आफैंले अतिक्रमीत नहरका संरचना हटाउन उर्दी दिएका हुन्। झापाको पाँचगाछिस्थित कन्काई नहर जल उपभोक्ता संस्थाको कार्यालय भवनको उद्धघाटन गर्दे मन्त्री साउदले कन्काई नहरको बाँधमा अतिक्रमण गरेर निर्माण गरिएका शौचालय र बंगुरका खोर हटाउन स्थानीयलाई १५ दिने अल्टिमेटम दिइरहँदा कार्यक्रमका सहभागीको हौसला दिएका थिए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री साउदले समितिलाई अह्राउँदै भने, ‘बिनम्र आग्रहका साथ स्थानीयलाई ति संरचमा हटाउन अनुरोध गर्नुहोस् अनि टेरेनन् भने प्रहरी लगाएर हटाउनुस्।’
मन्त्री साउदले झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेललाई नहरका डिलमा निर्माण भएका त्यस्ता अस्थायी संरचना हटाउन सहयोग गरिदिन समेत अनुरोध गरे।
समितिका अध्यक्ष सूर्यनारायण ताजपुरीयाले समितिले पटक पटक सूचना दिएर पनि अटेर गरेका स्थानीयका बंगुरका खोर र शौचालय मन्त्रीको निर्देशन अनुसार नै १५ दिन भित्र हटाईने जानकारी दिए।
झापा र ईलामको सीमामा पर्ने दोमुखाबाट ३६ किलोमिटरको दूरीमा रहेको सो नहरको बाँध अतिक्रमण गरेर स्थानीयवासीले बंगुर तथा शौंचालय घर बनाएको समितिले जनाएको छ। तर कतिको संख्यामा बंगुरका खोर र शौचालय छन भन्ने बारेमा समितिले तथ्याङ नराखेको समितिले जनाएको छ।
बिश्व बैक, नेपाल सरकार र स्थानीय उपभोक्ताको ५७ लाख ७४ हजार ४ सय ४९ रूपैयाँको लागतमा सो भवन निर्माण भएको हो। कन्काई नहर जलउपभोक्ता समितिको सो कार्यालय भवन सहितको सभा हल निर्माण ०६८ सालमा सुरू भएका समितिले जनाएको छ।
कन्काई नदीको पानि मुख्य स्रोत रहेको उक्त सिँचाई प्रणाली भित्र तोपगाछी, बैगुनधुरा, पाँचगाछी, महाभारा , धरमपुर र शिवशताक्षी नगरपालिकाको खेतियोग्य जमिन सिंचीत हुने गरेको छ।
१ हजार ९ सय ९० वर्ग किलोमिटरभित्र फैलिएको नहरको सिञ्चित क्षेत्र ७ हजार हेक्टर रहेको डिभिजन प्रमुख कुन्जन भक्त श्रेष्ठले जानकारी दिए। संयुक्त व्यवस्थापनबाट सञ्चालित मूल नहरको लम्बाई ३६ किलोमिटर रहेको बताइएको छ।
कन्काई नहर जलउपभोक्ता संस्थाका अध्यक्ष सूर्यनारायण ताजपुरीयाको सभापतिव्वमा भएको कार्यक्रममा सभासदद्वय, दीपक कार्की महेन्द्र सुव्वा, झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, पूर्वाञ्चल सिँचाई डिभिजन कार्यलयका प्रमुख कुन्जन भक्त श्रेष्ठ, संस्थाका निवर्तमान अध्यक्ष टंक ढुंगेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।