नेकपा एमालेका अध्यक्ष केपी ओलीले संघीयताका नाममा तराई र पहाडलाई छुट्याउने कुरा राष्ट्रविरोधी भएको उल्लेख गर्दै देशलाई अहित हुने सवालमा आफ्नो पार्टी सहमत नहुने बताएका छन्।
यदु स्मृति प्रतिष्ठानले स्थापना गरेको पत्रकारिता पुरस्कार वितरण तथा १६ औं यदु स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले संविधान निर्माणका क्रममा आफूहरू सकेसम्म सहमतिको पक्षमा रहे पनि राष्ट्रियता र लोकतान्त्रिक मूल्य-मान्यतालाई छाडेर कुनै सहमति नहुने स्पष्ट पारे।
संविधानसभामा केवल संविधान निर्माणको कानुनी प्रक्रिया मात्र सुरु भएको जनाउँदै उनले प्रश्न गरे- बहुमतीय प्रक्रिया प्रारम्भ भएको भनेर जनतामा भ्रम छर्ने काम गरिएको छ। के अल्पमतीय प्रक्रियाबाट वा सर्वसम्मत प्रक्रियाबाट संविधान बन्छ?
नेपाली कांग्रेस र एमालेले एमाओवादी नेतृत्वको मोर्चालाई संविधानसभा छाडेर नजान र सहमतिमा आउन भनिरहे पनि केही बुद्धिजीवीले सत्तापक्षले वार्ताको वातावरण बिगारेको भन्ने टिप्पणीबाट आफू आश्चर्यमा पर्ने गरेको ओलीको भनाइ थियो।
‘देशलाई साँढे सातको दशा लागेका बेला हिंसात्मक राजनीतिबाट आएको एमाओवादी प्रथम संविधानसभामा पहिलो पार्टी बन्यो,’ उनले भने, ‘अब त्यस्तो भूल जनताले गर्ने छैनन्।’
२०५६ सालको संसदीय निर्वाचनमा रुकुम क्षेत्र नम्बर २ का एमालेका उम्मेदवार तथा जिल्ला सचिव यदुकुमार गौतमलाई तत्कालीन नेकपा माओवादी कार्यकर्ताले जिल्लाको गरायला भन्ने ठाउँमा हत्या गरेका थिए ।
उनको स्मृतिमा स्थापित १५ हजार राशीको सो पुरस्कार यस वर्ष अन्नपूर्ण पोष्टका पत्रकार बालकुमार नेपालले पाएका छन्।
कार्यक्रममा एमाले स्थायी कमिटीका सदस्य शंकर पोखरेल, पोलिटब्युरो सदस्य प्रकाश ज्वाला, केन्द्रीय सदस्य सूर्य थापा, गौतमकी धर्मपत्नी तथा पूर्वसांसद् तीर्था गौतमलगायतले यदुकुमार पार्टी, लोकतन्त्र र जनताको निष्ठाका लागि सहिद भएकाले उनका सपना पूरा गर्न अघि बढनुपर्नेमा जोड दिएका थिए। रासस