वन तथा भू–संरक्षण मन्त्री महेश आर्चायले चुरे संरक्षण सरकारसहित राष्ट्रपतिसम्मको ठूलो चासोको विषय बनेको बताए। देश भरिका निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन)हरूको ३१औं राष्ट्रिय भेलाको बुधबार नवलपरासीको अमलटारीमा उद्घाटन गर्दै मन्त्री आर्चायले चुरे तथा वन्यजन्तुको संरक्षणमा सरकारदेखि राष्ट्रपति तथा सरोकारवाला सबै पक्ष लागिपरेको बताए।
मन्त्री आचार्यले चुरे संरक्षणका क्रममा देखिएका विवादको समाधानका लागि ठोस नीति ल्याउने पनि वचनबद्धता प्रकट गरे।
कार्यक्रममा वन मन्त्रालयका सचिव सरोजचन्द्र पौडेलले संस्थागत बेरुजु कम गर्दै वन क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रणमा एक भएर लाग्नुपर्ने बताए।
उक्त भेलामा चुरे संरक्षणको क्षेत्रका कार्य गर्दागर्दै ज्यान गुमाएका गुठीराम बोटेको स्मृतिमा अक्षय कोष स्थापना गरिएको घोषणा गरिएको थियो।
कावासोती–१५ मा रहेको दुर्गा भवानी निमावीमा घडियाल गोही संरक्षण समितिका कर्मचारीद्वारा सङ्कलित रु १ लाख २८ हजार ५८४ बराबरको ‘स्व गुठीराम बोटे घडियाल गोही संरक्षण छात्रवृत्ति’ स्थापना गरिएको हो। अक्षय कोषका लागि सङ्कलित रकम आजै विद्यालयका प्रध्यानाध्यापक छन्नुराम महतोलाई प्रदान गरिएको छ।
यसैबीच, आजै कावासोती–१६ डण्डा चोकमा अमलटारी मध्यवर्ती उपभोक्ता समितिले स्थापना गरेको गैँडाको मूर्तिको समेत मन्त्री आचार्यले अनावरण गरे। रासस