राष्ट्रिय जनमुक्ति पार्टीका दुई जना सभासद्ले प्रहरीको सुरक्षा घेराभित्र नयाँ पार्टी घोषणा गरेका छन्। बुधबार राजधानीको संवाद डबलीमा सभासद् शिवलाल थापा र सीमाकुमारी बिकेले पत्रकार सम्मेलनको आयोजना गरि नयाँ पार्टीको घोषणा गरेका हुन्।
पार्टीको अर्कोपक्षले अवरोध गरेपछि निर्धारित समायमा कार्यक्रम सुरु हुन सकेन। आफ्नो असुरक्षा भएको भन्दै सभासद् थापाले प्रहरीलाई खबर गरेपछि तत्काल कार्यक्रमस्थलमा प्रहरी आएको थियो। सिंहदरबार प्रहरी प्रभागबाट डिएसपी सन्तोष खड्काको नेतृत्वमा करिब एक दर्जन प्रहरीले सभासद् थापा र बिकेलाई सुरक्षा घेरा दिएको थियो।
कार्यक्रम रोक्न कानुनले नदिने भन्दै आफूहरुले कार्यक्रम नरोक्ने भनेपछि अर्को पक्ष केही पछि हटेको थियो।
पत्रकार सम्मेलनको लागि तयार गरेको प्रेस विज्ञप्ति वाचन गर्न लाग्दा अर्को पक्षले जुत्ताको माला लगाउन र कालो मोसो दल्ने प्रसाय गरेको थियो। तर, प्रहरीले रोकेको थियो।उनीहरुले वर्तमान पार्टी अध्यक्ष एमएस थापाले शान्ति र संविधान, संघीयता र समावेशीको पार्टीको नीतिभन्दा बाहिर गएर कार्य गरेको भन्दै “राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक” नामको नयाँ पार्टी गठन गरेका छन्।