नेकपा एमाले स्थायी कमिटी केन्द्रीय कमिटीमा ८ वैकल्पिक सदस्य मनोनित भएका छन्।
एमालेको आज बसेको बैठकले खगेन्द्र चुडाल, देवशंकर पौडेल, मानबहादुर जिसी, रूपनारायण श्रेष्ठ, झपट रावल, प्रल्हाद गिरी, डा. देउमान सम्बाहाम्फे र भाष्कर काफ्लेलाई वैकल्पिक केन्द्रीय सदस्य नियुक्त गरेको हो। गिरी एमाओवादीबाट तथा सम्बाहाम्फे र काफ्ले नेकपा मालेबाट पुनः एमालेमा फर्केका हुन्। यो निर्णयसँगै एमाले केन्द्रीय समितिमा १८० जना पुगेको छ ।
बैठकपछि एमालेका महासचिव ईश्वर पोखरेलले पुनः एमाले फर्किएकाहरूलाई पार्टी विधानको धारा ६७ (४) बमोजिम मनोनयन गरिएको बताए। सो दफामा एकता प्रक्रियाबाट आउनेलाई २० प्रतिशतभन्दा बढी संख्यामा मनोनयन गर्न उल्लेख छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठित शीर्ष नेता सम्मिलित कार्यदलको सुझावका आधारमा ती नाम स्थायी कमिटीले पारित गरेको हो । यसअघि यही फागुन १३ गतेको स्थायी कमिटीले १० नेतालाई केन्द्रीय कमिटीको पूर्ण सदस्यमा मनोनयन गरेको थियो। यही फागुन १७ गतेको बैठकले राधाकृष्ण मैनाली र विजय सुब्बालाई मनोनयन गरेको थियो ।
गत असारमा सम्पन्न पार्टीको नवौं महाधिवेशनपछि केन्द्रीय सदस्यको कार्यविभाजनका विषयमा भने स्थायी कमिटीले निर्णय गर्न बाँकी छ । बैठकमा संविधान निर्माण र समसामयिक राजनीतिका विषयमा पनि छलफल भएको थियो । रासस