उपप्रधान मन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले निःसर्त वार्तामा आउन आन्दोलनरत दललाई आग्रह गरेका छन्।
नेपाल प्रेस युनियन इलाम शाखाले सोमबार बिहान इलाममा आयोजना गरेको पत्रकारसम्मेलनमा उपप्रधान मन्त्री सिंहले दोस्रो संविधानसभाले पनि संविधान जारी गर्न नसक्दा मुलुक नै असफल हुने धारणा राख्दै सबैको सहमति र सहकार्यमा संविधान जारी गर्न सके त्यो दिगो हुने विचार व्यक्त गरे। “कसैले केही छाडौँ, लचकता अपनाऔँ”–उनले भने–“मिल्न नसकेका विषयलाई वार्ता र सहमतिको माध्यमबाट हल गरौँ।”
निर्वाचन प्रणाली, शासकीय स्वरुप, सङ्घीयतालगायत विषयमा सबै दलबीच सहमति भइसकेकाले त्यसलाई मूर्तरुप दिन वार्तामा आउन सरकारले आग्रह गरेको उनले बताए। उनले मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन संविधान जारी गर्नुको कुनै विकल्प नभएको बताए।
एक फरक प्रसङ्गमा मन्त्री सिंहले वर्तमान परिस्थितिमा सरकार परिवर्तन नहुने बताए। रासस