सरकारले योजनावद्ध रुपमा आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण गरेको एकीकृत नेकपा(माओवादी)ले आरोप लगाएको छ ।
शनिबार नयाँबानेश्वरमा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले गरेको हस्तक्षेपमा एमाओवादीका नेता गङ्गानारायण श्रेष्ठलगायत तीसभन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएका थिए ।
घाइतेहरुको कान्तिपुर, निजामती र वीर अस्पतालमा उपचार भइरहेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आज कान्तिपुर अस्पतालमा पुगी नेता श्रेष्ठको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिएका थिए। नेता श्रेष्ठको स्वास्थ्य स्थितिको बारेमा जानकारी लिएपछि सञ्चारकर्मीसँग अध्यक्ष दाहालले सत्तारुढ दलको व्यवहार अझै पनि सहमतिका आधारमा अगाडि बढ्न तयार नभएको बताए।
बहुमतीय प्रक्रियालाई स्थगन गरेर सहमतिका आधारमा अगाडि बढ्न सत्ताधारी तयार नभए थप सशक्त आन्दोलनको आवश्यकता रहेकोमा जोड दिँदै उनले शनिबार बानेश्वरमा गरिएको प्रहरी हस्तक्षेप त्यसैको परिणति भएको बताए।
यसैबीच कान्तिपुर अस्पतालमा उपचाररत एमाओवादी नेता श्रेष्ठले सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै आफूलाई प्रहरीले चिनेर नै ताकी–ताकी प्रहार गरेको बताए।
प्रहरीका उच्च अधिकारीसँग छलफल गर्दै गर्दा एक्कासी हस्तक्षेप भएको र नेताहरुमाथि नै छानी–छानी प्रहार गरिएको उनको भनाइ छ।
एमाओवादी प्रवक्ता दीनानाथ शर्माले प्रहरी हस्तक्षेमा परेर घाइते भएका नेता तथा कार्यकर्ताको निःशुल्क उपचार गर्न माग गरेका छन्।
“बिना कुनै आधार निषेधित क्षेत्र तोडेको आरोपमा नेता तथा कार्यकर्तामाथि जानी–जानी प्रहार गरिएको छ । त्यस क्षेत्रमा रहेका प्रहरीका अधिकृत तथा आक्रमणकारी प्रहरीलाई कारबाही हुनुपर्छ”–प्रवक्ता शर्माले भने रासस