राष्ट्रिय गौरबका आयोजनमा भइरहेको ढिलासुस्तीको विषयमा संसदीय समितिले बोलाएको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की अनुपस्थित रहेका छन्।
ससद मातहत रहेका विकास समिति र सुशासन तथा अनुगमन समितिले संयुक्त रुपमा सरकारका विभिन्न निकायका सगै अख्तियारसँग छलफलका लागि आइतबारको बैठकमा उपस्थित हुन पत्राचार गरिएपनि अन्तिम समयमा कार्कीले आफू उपस्थित हुन नसक्ने जानकारी समितिलाई दिएको सुशासन समितिका सचिव जीवराज बुढाथोकीले बताए।
यसअघि काबेली लगायत विभिन्न १४ वटा जलविद्युत परियोजना खारेजीको निम्ति उर्जा मन्त्रालयलाई पत्राचार गरेको विषयमा ससदीय समितिहरुले अख्तियार प्रमुखलाई डाकेपछि अर्थ समितिमा उपस्थित कार्कीले आफू सुशासन समितिमा मात्रै उपस्थित हुने जानकारी दिएका थिए।
त्यसपछि सोही विषयमा जलस्रोत समितिले डाकेको बैठकमा समेत उनी अनुपस्थित रहेका थिए। संसदीय नियमावली अनुसार आफ्नो निकाय सुशासन समितिमा मात्रै पर्ने भएकोले उक्त समितिमा मात्रै उपस्थित हुने बताएपछि सुशासन समितिलाई सँगै राखी विकास समितिले कार्कीलाई छलफलका लागि बोलाएको थियो।
बैठकमा आफ्नो कार्यलयका सचिबलाई मात्रै पठाएर कार्कीले आफ्नो पूरानो अडान कायम नै राखेका छन्।