मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधानसभा निर्वाचनको बेला गरेका वाचाहरु पूरा गर्ने विषयमा राजनीतिक दलहरु पूर्ण रूपमा चुकेको बताएका छन्।
सबै दलहरुले दोस्रो संविधानसभा निर्वाचनका बेला चुनावी घोषणापत्रमा १ वर्ष भित्रमा जनतालाई संविधान दिने प्रतिवद्धता जनाएको भएपनि त्यो प्रतिवद्धता पूरा गर्ने विषयमा पूर्ण रूपमा चुकेको बताए।
जनतालाई संविधान दिने बेलासम्म संविधान निर्माणका आधारभूत कुरामा समेत कुनै सहमति नहुनु सबैको चिन्ताको विषय भएको उनले बताए।
रूपन्देहीको मंगलापुरमा शनिबार सम्पन्न नेपाल टेक्ट्रर महासंघको राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्व अध्यक्ष रेग्मीले संविधानसभामा पनि दलहरु राजनितिक आस्था र सत्ताको भागवण्डामा विभाजित हुँदा सबैक्षेत्रमा समस्या थपिएको उल्लेख गरे।
सबै दलहरु संविधान निर्माणको विषयमा संवेदनशिल नदेखिएको उल्लेख गर्दै संविधानको प्रकृया नलम्बाउन आग्रह गरे। उनले विभिन्न वहानामा संविधानसभाको प्रकृया लम्बाउन खोजीएको बताए।
संक्रमणकाल छिटो अन्त्य नभए शान्ति, संविधान, विकास र उन्नतीको पथमा मुलुक अगाडि बढ्न नसक्ने उनको भनाई थियो। उनले राजनीतिक नियुक्ति गर्ने विषयमा मिल्ने दलहरु संविधान निर्माणमा पनि मिल्न सक्नुपर्ने भन्दै संविधानको लागि सबैलाई जुट्न आग्रह गरे।
महासंघका केन्द्रीय अध्यक्ष प्रदीपप्रसाद उदयले टेक्टरको क्षमताको आधारमा ट्रली क्षमता बढाउनुपर्ने बताए। उनले टेक्टरलाइ ढुवानीको मान्यता दिन सरकारसँग आग्रह गरे।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझि, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष माधब भट्टराइ, टेक्टर व्यवसायीहरु भरत गिरी, सन्तोष गैरे, पदमसिंह रावल, महासचिव खेमप्रसाद गौतम, शंकर पौडेल, बसन्ती घिमिरे, लगायतले बोल्दै व्यवसायीलाइ सहज तरिकाले व्यवसाय संचालनको वाताबरण बनाइदिन आग्रह गरेका थिए। सम्मेलन २ दिनसम्म सञ्चालन हुने छ।