लोकसेवा आयोगको अध्यक्षमा उमेश मैनाली सिफारिस भएका छन्। लोक सेवा आयोगसहित अन्य दुई संबैधानिक निकायमा रिक्त रहेका पदाधिकारीहरुको नियुक्तिको सिफारिस गर्न आज साँझ बसेको संवैधानिक परिषद बैठकले मैनालीलाई सिफारिस गरेको हो।
प्रधानमन्त्री एवम् परिषदका अध्यक्ष सुशील कोइरालाले फागुन ४ गतेबाट पदाधिकारी बिहिन भएको लोकसेवा आयोगमा कांग्रेस निकट पूर्व सचिव उमेश मैनालीलाई नियुक्त गरेका हुन्। आयोगका सदस्यहरूमा वृन्दा हाडा भट्टराई, डा. गोविन्द प्रसाद कुसुम, श्रीपुरूष ढकाल, अशोक कुमार झा, ब्रम्हदेव राय र कृष्णचन्द्र झालाई सिफारिस गरेको छ।
लोकसेवा आयोगमा एमाओवादी नेता बाबुराम भट्टराईकी जेठी दिदी सासु कयोदेवी यमीको पदावधि सकिए पनि परिषद सदस्य एवम् एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले उनैलाई निरन्तरता दिन प्रस्ताव मंगलबारको बैठकमा राखेका थिए।
तर पूर्वसचिव मैनालीलाई आयोग अध्यक्षमा सिफारिस गर्ने प्रस्ताव प्रधानमन्त्री कोइरालाले राखेपछि उक्त बैठकमा कुनै सहमति हुन सकेको थिएन।
त्यसपछि परिषद सदस्य एवम सभामुख सुवासचन्द्र नेम्वाङले परिषद ऐनले व्यवस्था गरे अनुसार आजको लागि बैठक र बैठकमा पेश हुने प्रस्ताव प्रष्ट उल्लेख गर्न सुझाव दिए अनुसार अस्तिको बैठक स्थगित भएको थियो।
परिषद ऐनकेा दफा ७ अनुसार, संबैधानिक निकायमा नियुक्तिका लागि बसेको पहिलो बैठकमा पेश भएकेा प्रस्तावमा सर्वसम्मतिले निर्णय हुन नसकेमा अर्को बैठक बसी सकेसम्म सहमति र नभएमा उपस्थित सदस्यहरुकेा बहुमतको निर्णयले पदपूर्तिको सिफारिस गर्न सक्ने व्यवस्था थियो।
विगतमा संबैधानिक परिषदको बैठकमा ऐनमा व्यवस्था भएबमोजिम प्रक्रिया पूरा नगर्दा कतिपय परिषदका निर्णयहरु सर्वोच्च अदालतले बदर गरेको घटनालाई मध्यनजर गर्दै मंगलबारको बैठकमा आजको बैठकका लागि सबै आधारहरु तयार पारिएको परिषदका एक सदस्यले बताए।