प्रधानमन्त्री सुशील कोइरालाले महिला विरुद्ध हुने हिंसा र बलात्कारी विरुद्ध कडाई गर्नु पर्ने विचार व्यक्त गरेका छन्।
महिलामाथि एसिड खन्याउने र बलात्कार गर्ने अपराधीहरुको खोजी गरी कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाउन एनेकपा माओावादीको महिला संगठनकी शशी श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधि मण्डलसंग कोइरालाले यस्तो विचार व्यक्त गरेका हुन्।
उनले महिलामाथि हुने हिंसाका बारेमा सरकार अत्यन्त सजग भएको बताउँदै हिंसाका घट्नाको सही रिपोर्टिङ गरी सरकारलाई सहयोग पुर्याउन पनि सबैलाई आग्रह गरे। उमेर नपुगेका बालबालिकाबाट पनि अपराध हुने प्रवृत्ति देखिएको बताउदै उनलेे वयस्कहरुबाट हुने अपराध अक्षम्य हुने बताए।
प्रधानमन्त्री कोइरालाले भारतको दिल्लीमा सामूहिक बलात्कार गर्ने व्यक्तिलाई भारतीय अदालतले मृत्युदण्ड दिएको घटना प्रतिनिधि मण्डलसमक्ष उल्लेख गरेका थिए।
सो अवसरमा कानून,न्याय, संविधानसभा तथा संसदीय मामिला र शान्ति तथा पुनिर्माण मन्त्री नरहरि आचार्यले किशोरी छात्राहरुमाथि एसिड फ्याक्ने प्रकृतिको घट्नालाई सरकारले गम्भीरताको साथ लिएको र प्रहरीले गहन तरिकाले अपराधीको खोजी गरीरहेको जानकारी दिए।
उनले घटनामा संलग्ने अपराधी केही दिनमा नै पक्राउ पर्ने पनि विश्वास व्यक्त गरे।
महिला हिंसामा परिवारभित्रै हुने हिंसाको अवस्था भयावह रहेको बताउँदै हाड नाता करणी सहित बलात्कारका घट्नामा बलात्कारीलाई सजाय बढाउने गरी ऐनको संशोधन गरिन लागेको पनि जानकारी दिए।
नेपालले मुत्युदण्ड उन्मूलन गरी यस संबन्धि अन्तराष्ट्रिय सन्धीमा पनि हस्ताक्षर गरिसकेकोले मृत्युदण्डको प्रावधान नराखिएको भएपनि जन्मकैदको अवधि २० बर्षबाट ३० बर्ष पुर्याइएको र बाबुबाटै बलात्कारको घट्ना भए थप १० बर्ष सजाय थपिएको पनि आचार्यले बताए।
मन्त्री आचार्यले बलात्कारका घट्ना सरकारी निकायको जानकारीमा ल्याउन, पीडित महिलालाई पुनस्थापना गर्न र सुरक्षा गृहमा आश्रय दिन सबैले सहयोग गर्नुपर्ने बताउनु बताए।
उनले अदालतले प्रमाण र साक्षीको बयानलाई आधार बनाएर मुद्दाको फैसला गर्ने भएकोले यस्ता मुद्दामा अदालतलाई सहयोग पुर्याउन पनि सबैले ध्यान दिनु पर्ने बताए।
सो अवसरमा महिला प्रतिनिधिहरुले महिला विरुद्धको हिंसाका पीडक र बलात्कारीहरुलाई कडा दण्ड र सजाय दिएर नियन्त्रण गर्न प्रधानमन्त्रीसंग आग्रह गरेका थिए।