नेकपा एमालेले १० जनालाई केन्द्रीय सदस्य मनोनयन गरेको छ । बुधबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष केपी ओलीले १० जनाको नाम प्रस्तुत गरेका थिए। मनोयनन गर्नुपर्ने थप पाँच बैकिल्पक केन्द्रीय सदस्य र नेताहरुको कार्यविभाजनको टुंगो भने बिहीबार लगाउने भएको छ।
प्रमुख नेताहरूबीचको भागबन्डा नमिल्दा झण्डै दुई सातादेखि स्थायी समितिको बैठकमा थाती रहेको मनोनयनको बिषयलाई बुधबारको बैठकले आंशिक टुंगो लगाएको हो। स्थायी समितिले मनोनयन गरेका केन्द्रीय सदस्यहरुमा कृष्णगोपाल श्रेष्ठ, केदार न्यौपाने, घनेन्द्र बस्नेत, देवराज घिमिरे, कल्याणी खडका, प्रमेश हमाल, सुमन प्याकुरेल, हरि पराजुली, रामकुमार ज्ञवाली र जया घिमिरे छन् ।
१० मध्ये पाँच ओली, तीन माधव नेपाल र एक/एक झलनाथ खनाल र बामदेव गौतम समुहको सिफारिसमा मनोनित भएका हुन् । श्रेष्ठ, न्यौपाने, बस्नेत, देवराज घिमिरे र प्याकुरेल ओली पक्षका हुन् । पूर्व राजदूत हमालको नाममा खनाल र कृषिमन्त्री समेत रहेका पराजुलीको नाममा गौतमले अडान लिएका थिए । बाँकी तीन जना नेपाल समूहसंग नजिक छन् ।
एमालेको महाधिवेशन गत असारमा सकिए पनि पार्टी भित्रको आन्तरिक गुटबन्दीका कारण मनोनयन र कार्यविभाजनको बिषय अल्झिइरहेको थियो।