डा.भक्तमान श्रेष्ठ अपहरण भएको केही वर्षपछि चितवनमा फेरि अर्को अपहरण काण्ड भएको छ। तर बेलैमा प्रहरीले चाल पाएका कारण ठूलो घटना भने हुन पाएन। चितवनका एकजना चिकित्सकलाई प्रहरीले अपहरणकारीबाट सकुशल मुक्त गरेको छ। भरतपुरको नारायणी सामुदायिक अस्पतालका बालरोग विशेषज्ञ डा. नारायणबहादुर थापालाई अपहरण गरी बन्धक बनाइराखेको अवस्थाबाट प्रहरीले उद्धार गरेको चितवनका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जनाए।
उनका अनुसार अपहरण गरी भरतपुरको जंगल आइल्यान्ड रिसोर्टमा बन्धक बनाइराखिएको अवस्थामा प्रहरी निरीक्षक रुगम कुँवरको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई सकुशल उद्धार गरेको हो।
सो क्रममा तीनजनालाई पक्राउसमेत गरिएको थापाले जनाए। उनीहरुलाई आज प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा चितवन भरतपुर ८ बस्ने ३१ वर्षका घनश्याम पौडेल, नुवाकोट विदुर नगरपालिका ९ बस्ने सचिन भन्ने सखम खवास र सुनसरी धरान बस्ने २६ वर्षका जुने लिम्बुलाई पक्राउ गरी आज प्रहरीले सार्वजनिक गरेको हो।
उनीहरुले चिकित्सकबाट ३० लाख फिरौती माग गरेको र अहिलेसम्म १३ लाख ७५ हजार रुपैयाँ लिइसकेको अनुसन्धानमा खुलेको सो क्रममा प्रहरीले जानकारी दिएको छ। ११ लाख रुपैयाँ पौडेलले लिएको र अन्यले बाँकी रकम लिएको खुलेको छ।
विशेष सुचनाको आधारमा खोजी गर्दै जाँदा उनीहरुलाई पक्राउ गरी चिकित्सकलाई मुक्त गर्न सफल भएको प्रहरी निरिक्षक रुगम कुँवरले जानकारी दिए।
डा. थापाविरुद्ध पूर्वी चितवनको चैनपुरकी एक महिलाले नाता कायम गरी पाउँ भनी अदालतमा मुद्दा दर्ता गरेको र सोही घटनाको विषयलाई लिएर उनीहरुले फिरौतीका लागि चिकित्सकलाई अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ। ती महिला बच्चा मारेको आरोपमा पुर्पक्षका लागि थुनामा छिन्।