सङ्घीय समाजवादी पार्टी नेपालले प्रादेशिक संरचनामा गएको छ। पार्टीले दश प्रादेशिक समिति घोषणा बमोजिम लिम्बुवान प्रदेश घोषणा गर्दै प्रादेशिक संरचनामा गएको हो।
पार्टीले आइतबार धरानको चुम्लुङ हिम परिषरमा गरेको कार्यक्रममा पार्टी उपाध्यक्ष रकम चेम्जोङको संयोजकत्वमा ५६ सदस्यीय समिति घोषणा गरेको छ। जस्का सदस्यमा विजय लिम्बू, गोपाल देवान, विश्वदीप लिङदेन र योगराज बनेम लगायत छन्।
पूर्वका ९ जिल्लालाई समेटेर लिम्बुवान प्रदेश घोषणा गरेको हो। उपाध्यक्ष चेम्जोङले फागुन २ गते किरात प्रदेश घोषणा गर्ने कार्यक्रम रहेको बताएका छन्। यसैगरी तमुवान, ताम्सालिङ, नेवा, थरुहट, मगरात, खसान, शेर्पा र मधेस प्रदेशसमेत घोषणा गरिएको कार्यक्रम रहेको छ।
समाजवादीको पहिचानसहितको संघीयता बनाउने अभिप्रायले पार्टीले प्रादेशिक संरचनामा गएको संयोजक चेम्जोङले बताएका छन्।