हजारौं प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूले आइतबार फेरि सडकमा आएका छन्। अभियानको बिम्वका रूपमा रहेको पहेलो छाता ओढेका हजारौं प्रदर्शनकारीले हङकङको केन्द्रीय भागमा भेला भएर नारा लगाएका थिए– 'बालिग मताधिकार।'
आयोजकहरूले प्रदर्शनमा ५० हजार नागरिक सहभागी भएको बताए। एएफपीका संवाददाताले हजारौं व्यक्ति यसमा सरिक भएको बताए पनि प्रहरीको अनुमान भने उपलब्ध हुन सकेन।
प्रहरीले गत डिसेम्बरमा जस्तै प्रदर्शनकारीले मुख्य सडक कब्जा गर्ने प्रयास गरेमा त्यसलाई हटाइने बताएको छ। तर, कुनै पनि प्रदर्शनकारी समूहले पुनः कब्जाको घोषणा गरेका छैनन्। प्रदर्शनकारीहरूले आइतबार अपरान्ह पहेला बेलुन बोकेर शान्तिपूर्ण प्रदर्शन गरेका थिए।
यो र्यालीले सर्वसाधारणको नेतृत्व चयनमा स्वतन्त्र निर्वाचनप्रतिको चाहनालाई प्रतिबिम्वित गर्नेछ। अधिकारीहरूले प्रदर्शनकारीहरूको मागप्रति कुनै सहुलियत दिएका छैनन् र अर्ध–स्वामित्वको यो चिनिया क्षेत्रमा तनाव उच्च छ।
'हामी हङकङमा सरकारप्रतिको हाम्रो दिग्दारी मात्र प्रदर्शन गर्न चाहन्छौं,' सेल्स र मार्केटिङक व्यवसायी ४० वर्षे प्रदर्शनकारी रोनी चानले भने, 'हामीले धेरै गर्न सक्दैनौं भन्ने हामीलाई थाहा छ, तर हामी बोलेनौं भने कुनै परिवर्तन आउने छैन।'
अधिकारीहरूले मुख्य बाटाहरू बन्द गरेर भइरहेका प्रदर्शन गत डिसेम्बरमा हटाएका थिए। आन्दोलनको उत्कर्षका बेला करिब १ लाखसम्म प्रदर्शनकारीले भाग लिएका थिए प्रहरीसँग प्रदर्शनकारीका हिंसात्मक झडपसमेत भएका थिए।
चीनले पहिलो पटक प्रदर्शनकारीहरूलाई प्रमुख कार्यकारीको आगामी सन् २०१७ निर्वाचनका बेला मतदान गर्न पाइने आश्वासन दिएको थियो। तर, मनोनयन बेइजिङ समर्थित समितिले छानवीन गरेपछि मात्र स्वीकार्य हुने समेत प्रष्ट पारेको थियो। तर यो प्रस्तावको प्रदर्शनकारीहरूले तीखो आलोचना गरेका थिए।