उद्योग मन्त्री महेश बस्नेतले एनेकपा-माओवादीसहितको मोर्चा आन्दोलनमा गए उनीहरुको अस्तित्व समाप्त हुने बताएका छन्।
नेकपा-एमाले सूर्यविनायक नगर कमिटी कार्यालयको शनिबार उद्घाटन गर्दै उनले विपक्षीले गर्ने आन्दोलन, हड्तालमा अब जनताले साथ नदिने भएकाले द्वन्द्वको सीमालाई विपक्षीले नघटाए उनीहरुको अस्तित्व समाप्त हुने बताएका हुन्।
संविधानसभा प्रक्रियामा गइसकेकाले अब ढिलोमा तीन महिनाभित्र संविधान जारी हुने दाबी गर्दै मन्त्री बस्नेतले विपक्षी दलहरु एक मधेस एक प्रदेशको नाममा विदेशीबाट आएको पैसा खाएर मुलुकलाई टुक्रयाउन लागिपरेको आरोप लगाए।
मुलुकको प्रगति, समृृद्धि र लोकतन्त्रको नेतृत्व एमालेले गरिरहेको चर्चा गर्दै उनले एमालेलाई कमजोर नठान्न विपक्षीलाई आग्रहसमेत गरे।
एमाले अध्यक्ष केपी शर्मा ओलीले देशद्रोही र मुलुकको राष्ट्रियतामाथि आँच पुर्याउनेका विरुद्धमा नेतृत्व गर्दै आउनुभएकाले केही व्यक्तिले अध्यक्षको पुत्ला जलाउँदैमा त्यसले कुनै अर्थ नराख्ने पनि उहाँको भनाइ थियो । रासस