बागलुङ जिल्लाका कम्युनिष्ट नेता तथा बाग्लुङ नगरपालिकाका प्रथम नगर प्रमुख ऋषिराम शर्माको शुक्रबार साँझ हृदयघातका कारण निधन भएको छ।
जिल्लामा निष्ठावान नेताका रुपमा स्थापित शर्मा अचानक ढलेपछि उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारका लागि लैजादै गर्दा मृत्यु भएको हो । अपरान्ह करिव साढे ६ वजे घरमै भएको दुखदायी घटना हृदयघातका कारण हुन सक्ने धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर तरुण पौडेलले बताए।
लामो समयदेखि मुटु रोगका कारण शर्माले नियमित औषधि सेवन गर्ने गरिएको बताइएको छ। बुबा गंगादत्त शर्माका प्रथम पुत्रको रुपमा २०११ साल मंसिर ३ उनको जन्म भएको थियो। बानपा १ रामरेखा निवासी शर्माको निधन भएपछि अहिले उहाँको घरमा एकिकृत माओबादी, अन्य कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक शुभचिन्तकको ठूलो भीड लागेको छ। शर्माका श्रीमतीका साथै दुई छोरा र दुई छोरी छन् । उहाँको शनिबार अन्येष्टी गरिने बताइएको छ ।
शर्मा जिल्लाको वामपन्थी राजनीतिको धरोहरको रुपमा आफ्नो उचाई बनाएका थिए। ६१ वर्षिय शर्मा विद्यालयमा अध्ययन गर्दा समेत नेतृत्वदायि भुमिका गर्ने गरेको धौलागिरी वहुमुखि क्याम्पसका पुर्व क्यापस प्रमुख रामप्रसाद उपाध्ययले बताए। २०२९ सालमा धौलागिरी वहुमुखि क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनका सभापति,२०५४ सालमा बागलुङ नगरपालिकाका प्रथम नगर प्रमुख हुदै तत्कालिन नेकपा मसालका जिल्ला संयोजक हुदै लितव्यरो सदस्य समेत रहेका थिए।
पछि नेकपा मसाल भुमिगत राजनीतिमा प्रवेश गरेपछि नेकपा एमालेको राजनीति सुरु गरेका शर्मा पार्टीको अनुशासन समितिका सदस्य समेत थिए। गएको संविधान सभा निर्वाचनको समयमा एमालेसंग असन्तुष्ट भई एकिकृत नेकपा माओवादीमा प्रवेश गरी केन्द्रिय सदस्य समेत रहेका शर्मा वामपन्थी राजनीतिको धरोहरका रुपमा उचाई गराएका थिए।