वीरगन्ज,१६,माघ, पर्साको हरपुर– ८, बडेर्वामा बुधबार प्रहरीले गरेको कारबाहीको सत्तारूढ सभासदहरुले विरोध गरेका छन्। एमालेका प्रत्यक्ष र समानुपातिक गरी पाँच सभासद र स्थानीय नेताहरुको एक टोलीले बिहीबार दिउँसो प्रमुख जिल्ला अधिकारी हेमनाथ दबाडीसँग भेट गरी बडेर्वामा प्रहरीले अत्यधिक बल प्रयोग गरेकोमा छानबिनको माग गरेका छन्।
उनीहरुले घट्नाप्रति आपति आपति जनाउँदै छानबिनपछि दोषीलाई कारवाही गर्न माग समेत गरेका छन्। नेकपा एमाले पार्टीका जिल्ला संयोजक चिरञ्जीवी आचार्यको नेतृत्वमा प्रत्यक्षका सभासद पर्सा क्षेत्र नम्बर २ का विचारी यादव, ३ का राजकुमार गुप्ता र ५ का जयप्रकाश थारु, समानुपातिक सभासद एवम् एमाले पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी र केन्द्रिय सदस्य समेत रहेका सभासद रामचन्द्र साह तेली सहितका नेताहरुले बडेर्वा घट्ना 'अन्यायपूर्ण' भएको टिप्पणी गरे।
प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै पुगेका उनीहरुले 'अपराधी पक्राउ गर्ने बाहानामा प्रहरीले निर्दोष महिलाहरुमाथी निर्मम दमन भएको' उल्लेख गरे। 'त्यो गाउँ एउटा सानो बस्ती हो, घट्नाको बेला टोलमा पुरुषको न्युन उपपस्थिति थियो, बिनाबर्दीका प्रहरीले धेरैवटा घरमा पसेपछि महिला अतालिए,' घट्नास्थलबाट फर्केका सभासद गुप्ताले भने, 'बिरोध जनाएका महिलाहरु उपर गोली चलाएपछि घट्ना उग्र भएको बुझिएको छ।' प्रहरीले बिधिपुर्वक आरोपितलाई पक्राउ गर्न पाउने भएपनि पुरा गाउँलाई नै अपराधि सरह व्यवहार गर्नु अनुचित भएको गुप्ताको ठहर छ।
प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडिले घटनाको बारेमा एमालेका सभासदहरु एवमं नेताहरुको टोलीसँग छलफल भएको बताउँदै घाईतेहरुको उपचार काठमाडौंमा भइरहेको बताए। प्रहरी कारबाही बारे छानवीन समिति गठन हुनुपर्ने उनीहरूको मागबारे बिहिबार नै मन्त्रालयमा जानकारी गराई सकिएको दबाडिकोे भनाइ थियो।
बुधबार दिउँसो केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबि) को टोलीले हरपुरको बडेरवा टोल बस्ने सरयुग चौधरीको घरमा हात्तिको दाँत बरामद गर्न छापामारी गरेको थियो। खानतलासीपछि केही बरामद नभए पनि चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै त्यहाँका महिलाहरु प्रहरी माथि जाइलागेका थिए।
प्रतिकारमा प्रहरीले ६७ राउन्ड गोली प्रहार गरेको थियो। प्रहरीको गोलीबाट सो टोलका प्रेमिना चौधरी, इन्द्रादेवी चौधरी, दुखनी चौधरी र दिपनी देवि थरुनी धाइते भएका छन्। घाइते महिलाहरुको अवस्था गम्भीर भएपछि उपचारका लागि काठमाडौं लगिएको छ। छापामारीमा ठुलो मात्रामा हाथीको दाह्रा बारमद भएको प्रहरीको दावी पुष्टि हुन सकेको छैन्। 'केही बरामद भएको छ की छैन? थाहा भएन,' पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले भने, 'हामी सिआएबि टोलीलाई सुरक्षित गाउँबाट फर्काउन मात्र बल प्रयोग गर्नु परेको हो।'
घटनाको छानविन, घाइतेलाई उपचार र छतीपूर्तीको लागि पहल गर्ने प्रमुख जिल्ला अधिकारी दवाडीले आश्वासन दिएका गुप्ताले बताए। गाउँबाट प्रहरी फर्केपछि मात्र घटनाको बारेमा आफूलाई पनि जानकारी भएको भन्दै प्रमुख जिल्ला अधिकारी दबाडीले आफूले गोली चलाउने आदेश नदिएको सभासदहरुलाई सफाई दिएको टोलीका सहभागि नेताहरुले बताए।