जिल्ला निर्वाचन कार्यालयले फोटो खिच्न छुटेका मतदाताका लागि आजदेखि पुनः फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गरेको छ।
कार्यालयले आठ जना दर्ता कर्मचारी नियुक्ति गरी विगतमा छुटेका, १८ वर्ष पुगेका, विदेशबाट फर्केका मतदाताका लागि नामावली सङ्कलन सुरु गरेको हो।
कार्यालयले प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतामा बिहीबार जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दल, सञ्चारकर्मी, सुरक्षाकर्मीसहितको बैठक आयोजना गरी नामावली कार्य सुरु गर्ने जनाएको हो।
मतदाता नामावली सङ्कलन अवधिमा राजनीतिक दलले आ–आफ्नो कमिटीमार्फत सहयोग गर्ने र छुटेका मतदातालाई फोटो खिचाउन अनुरोध गरी सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।
इलामको दक्षिणी महमाई गाविसबाट सुरु हुने नामावली सङ्कलन कार्य चैत पहिलो साता सम्पन्न हुने जिल्ला निर्वाचन अधिकृत प्रेम काफ्लेले जानकारी दिनुभयो। प्रत्येक गाविस र नगरपालिकाको एउटा वडामा मा दुई दिन मतदाता नामावली सङ्कलन गरिने र मतदाताको फोटो खिचाइने जनाइएको छ।
त्रिचालिस गाउँ विकास समिति र तीन वटा नगरपालिका रहेको यस जिल्लामा दुई महिना लाग्ने निर्वाचन कार्यालयले जनाएको छ। पटक–पटक मतदाता नामावली सङ्कलन गरे पनि विदेश गएका, अटेर गरेर बसेका र उमेर नपुगेका गरी करिब १८ हजार अझै पनि छुटेको अनुमान गरिएको अधिकृत काफ्लेले जानकारी दिए।
नामावली सङ्कलनका लागि गाविस सचिव र सामाजिक परिचालकमार्फत गाउँमा व्यापक अभियान सुरू गरिएको निर्वाचन कार्यालयले जनाएको छ। रासस