संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी एमाओवादीसहितको मोर्चाले आफूले डाकेको बैठकमा सहभागी नहुने भन्ने विषयमा आफूलाई विश्वास नभएको बताएका छन्।
राष्ट्रपति डा. रामवरण यादवलाई बिहीबार भेटेर संविधान लेखनमा देखिएको जटिलता र समाधानका लागि भइरहेका प्रयासबारे जानकारी गराउँदै नेम्बाङले यस्तो बताएका हुन्।
राष्ट्रपति भवन शीतल निवास पुगेर सभाध्यक्ष नेम्वाङले माघ ८ मा संविधान जारी नभएपछिको घटनाक्रम र माघ ११ गते प्रश्नावली समिति गठन गरेपछिको अवस्थाबारे राष्ट्रपति यादवलाई जानकारी गराए।
नेम्वाङले आफुसँगको भेटमा राष्ट्रपति यादवले संविधान जारी गर्नका लागि संविधानसभाले गरिरहेको प्रयासबारे खुसी ब्यक्त गरेको बताएका छन्।
त्यसक्रममा नेम्वाङले सहमतिका लागि अधिकतम् प्रयास गरेपनि सफल नभएपछि विधिसम्मत् ढंगले प्रश्नावली समिति गठन गरिएको जानकारी गराए।
भेटमा राष्ट्रपति यादवले सहमतिबाटै संविधान जारी गर्न नेम्बाङलाई सुझाएका थिए।