श्रीलङ्काका नयाँ राष्ट्रपतिले मुलुकका पूर्व प्रधानन्यायाधीशलाई अघिल्लो प्रशासनले विवादास्पद रूपमा महाभियोग लगाएको भनी बुधबार पुनर्स्थापना गरेका छन्।
यस विषयमा समाचार प्राप्त गरेपछि सिरानी बन्दरानायके कोलम्बोस्थित सर्वोच्च अदालतमा पुग्दा उनलाई वकिलहरूले फूलको गुच्छाका साथ स्वागत गरेका थिए।
सरकारका एक अधिकारीले आफ्नो परिचय नदिने सर्तमा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले वन्दरानायकेलाई एक पत्र लेखी उनलाई २०१३ मा लगाइएको महाभियोग असंवैधानिक भएको बताउँदै उनी काममा फर्कनु पर्ने उल्लेख गरेको जानकारी दिए।
ती अधिकारीले प्रधानन्यायाधीशलाई पुनस्र्थापना गरिएको र उनको स्थानमा राखिएका व्यक्तिलाई घर जान भनिएको बताए । वन्दरानायकेलाई पूर्व राष्ट्रपति महिन्दा राजापक्षेले मोहन पिरिसबाट प्रतिस्थापन गरेका थिए।
प्रधानन्यायाधीश बन्दरानायकेको निर्णय राष्ट्रपति राजापक्षेको शासनको विरोधमा जान थालेपछि राजापक्षेले उनलाई पदमुक्त गरेका थिए। निर्वाचनको घोषणापत्रमा सिरिसेनाले बन्दरानायकेलाई पुनस्र्थापना गरिने उल्लेख गरेका थिए।
श्रीलङ्का तथा विदेशमा पनि विरोध भए पनि राष्ट्रपति राजापक्षेले सरकारका वरिष्ठ कानुनी सल्लाहकारलाई बन्दरानायकेको स्थानमा नियुक्त गरेका थिए।
बन्दरानायकेलाई पदमुक्त गर्ने कार्यको व्यापक रूपमा आलोचना भएको थियो र संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषदले यसलाई न्यायापालिकाको स्वतन्त्रताप्रति प्रहार भएको ठानेको थियो ।
जनवरी ८ मा राजापक्षेको नाटकीय पराजयपछि पिरिसले पूर्व नेतालाई शक्तिमा राख्न सैनिक विद्रोह गर्न खोजेको भनी आरोप लागेपछि उनलाई पदबाट हट्न दबाब परेको थियो ।
पराजित राष्ट्रपति राजापक्षेले आफू पदमा रहन सेना प्रयोग गर्न खोजेको भनी प्रहरीले अनुसन्धान आरम्भ गरेको छ र पिरिसले उनलाई पदमा रहनुपर्ने कानुनी औचित्य प्रदान गर्न प्रयास गरेकाे मानिएको छ ।
यस विषयमा पिरिसबाट तत्कालै कुनै टिप्पणी आएको छैन ।