एकीकृत नेकपा माओवादीसहित विभिन्न तीस राजनीतिक पार्टीको 'अघोषित बन्द'मा मंगलबार यहाँ एउटा कलेजमा तोडफोड र आक्रमण गरिएको छ। प्लस टुको परीक्षा चलिरहेको विराटनगर सोमबारे हाटस्थित सिटी कलेजमा नकाबधारी बन्दकारीले कब्जामा लिएर आक्रमण गरेका हुन्।
कलेजका अनुसार विहान पौने नौ बजे करिब २० जनाको संख्यामा नकाब लगाएर आएका बन्दकारीले गेटभित्र पसेर अन्धाधुन्द आक्रमण गरेका हुन्। तोडफोडले कम्पाउन्डभित्र पार्किङमा राखिएको ना३ख ४६८६ नम्बरको कलेज बसका सबै सिसा फुटेका छन्।
'गेटमै थिएँ, मुख छोपेर मोटरसाइकलमा झन्डा राखेर आएको हुल मलाई ठेलेर भित्र पस्यो,' कलेजका सेक्युरिटी गार्ड सरोज भट्टराईले सेतोपाटीसँग भने, 'ढुंगा र लाठीले गाडीको सिसा झर्यामझुरुम पारे।'
मुख्य कार्यकारी निर्देशक तीर्थराज घिमिरेका अनुसार ती बन्दकारीले परीक्षा चलिरहेका कोठामा गएर पाँच जना विद्यार्थी र दुई शिक्षकमाथि हातपात गरे। त्यसैगरी, प्रिन्सिपल उद्धव भट्टराईलाई मुक्का प्रहार गरे। ढुंगा प्रहार गर्दा कलेजका केही झ्याल फुटेको उनले जानकारी दिए।
'उत्तरपुस्तिका च्यातेर विद्यार्थीमाथि कुटपिट गर्न थालेपछि परीक्षा बिथोलियो,' उनले भने, 'केही सोधीखोजी नगरिकनै कलेजभित्र आतंकवादी शैलीमा आक्रमण भयो।'
जनकपुरमा एक बन्दकारीको मृत्यु प्रकरणलाई जोडेर तीस राजनीतिक दलले मंगलबार पनि बन्दलाई जारी राखेको जनाएका छन्। यद्यपि, बन्दको औपचारिक जानकारी कतै दिइएको थिएन।
सोमबार बन्द भएका कारण यहाँका कलेजले आन्तरिक परीक्षा मंगलबारका लागि सारेका थिए।
घिमिरेका अनुसार बिबिएस र बिएड तहको परीक्षा विहान ६ बजेदेखि सुचारु भएको थियो। त्यसपछि प्लस टुको परीक्षा सुरु गरिएको थियो। 'बन्दको जानकारी भएको भए हामी कलेज खोल्ने थिएनौं,' उनले भने, 'विहानसम्म थाहा नभएकाले परीक्षा रोकेनौं।'
प्लस टुको परीक्षा लेखिरहेका बेला भएको आक्रमणका प्रत्यक्षदर्शी विद्यार्थी जगदीश फुलाराले सोधपुछ नगरीकनै बन्दकारीले कक्षाकोठा छिरेर उत्तरपुस्तिका खोस्दै च्यातेका थिए।
यो आक्रमणसँगै यहाँका कलेजले शैक्षिक संस्थामाथि आक्रमण भएको भन्दै बिरोध गरेका छन्। उच्च माध्यमिक विद्यालय संघ (हिसान)ले बन्दको जानकारी भएकै भए पनि परीक्षा चलिरहेको बेला शैक्षिक संस्थामाथि तोडफोड गर्न नपाइने जनाएको छ। 'शान्तिपूर्ण तरिकाले आएर बन्द गर्न अनुरोध गरे हामी नाइनास्ती गर्दैनथ्यौं,' हिसान अध्यक्ष बलराम पन्तले सेतोपाटीलाई भने, 'यस्तो क्रियाकलाप गर्ने हो भने हामी बन्द अवज्ञा गर्न बाध्य हुनेछौं।'
कलेजमा आक्रमणको जिम्मा तीस राजनीतिक दलले लिन मानेको छैन। तीस राजनीतिक मोर्चाका मोरङ संयोजक तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष भक्तिनाथ माझीले तोडफोडमा उत्रिन कार्यकर्तालाई निर्देशन नरहेकाले यो तोडफोड तीस राजनीतिक पार्टीका कार्यकर्ताबाट नभएको बताए।
'हामीले बन्दको जानकारी सबैतिर गराएका थियौं,' माझीले भने, 'तर तोडफोडमा उत्रिने हाम्रो मोर्चाका मान्छे हैनन्, हाम्रा बन्दकारी नकाबधारी थिएनन्।'
यसैबीच, रातो नकाब लगाएर पुगेका बन्दकर्ताले बरगाछीस्थित गोल्डेनपार्क कलेजमा पनि तोडफोड गरेका छन्। विहान ९ बजे सिटिइभिटीको भाइबा परीक्षा सञ्चालन भइरहेका बेला पुगेका बन्दकर्ताले ढुंगामुढा र लाठी प्रहार गरी कलेज तोडफोड गरेका हुन्।
गोल्डेनपार्क कलेजका निर्देशक रमेश खत्रीका अनुसार बन्दकर्ताले अफिस कोठा, विल्डिङ, ल्याब्रेटरीमा तोडफोड गरेका हुन्। तोडफोडबाट विल्डिङका सिसा तथा अन्य सामग्री क्षतिग्रस्त भएको खत्रीले बताए। ‘रातो नकाब लगाएर १०÷१२ जनाको संख्यामा आएका बन्दकारीले अफिस छिरेर तोडफोड गरे,’ खत्रीले भने।