राप्रपा नेपालले पुस ९ गतेदेखि गर्ने भनेको मेची महाकाली धार्मिक जागरण यात्राको लागि गाई र घोडाको प्रतिमासहितको रथ इटहरीमा निर्माण हुँदैछ। मिनि ट्रकमा फलाम, काठ तथा फाइबरलगायतका सामाग्रीको प्रयोग गरेर रथको निर्माण सकिसक्दा १० लाख खर्च हुने राप्रपा नेपालका संसदीय दलका उपनेता का सभासद् तथा रथका परिकल्पनाकार रामकुमार सुब्बाले जानकारी दिएका छन्।
झापाको मेची नदीदेखि पश्चिमको महाकालीसम्म पुग्ने रथ निर्माणमा पूर्वका १७ कलाकारहरु दुई सातादेखि खटिएका छन्। रथ निर्माणमा सभासद् सुब्बा आफै खटेका छन्। ‘अलि धेरै समय भएको भए चल्ने घोडा र गाईसहितको रथ बनाउन सकिन्थ्यो,’ उनले भने, ‘एकदमै छोटो समयमा पनि यत्तिको रथ बनेको छ।’ कलाकारहरुले मन लगाएर काम गरेकोले दुई महिना लाग्ने काम दुई सातामै सकिन लागेको उनले बताए।
रथ निर्माणमा पूर्वका कलाकारहरुसँग भारतबाट ल्याइएका कलाकारहरुसमेत छन्। विशेषतः फाइबरको प्रतिमा निर्माण गर्न भारतबाट कलाकार ल्याउनुपरेको सुब्बाले बताए। समयलाई ध्यानमा राखेर सकेसम्म राम्रो रथ बनाउन कोसिस गरेको कलाकारहरुको नेतृत्व गरिरहेका अभिषेक तिम्सिनाले बताए।
२८ फुट लम्बाई र १७ फुट उचाई भएको धार्मिक रथमा कामधेनु गाईको मुख्य भाग छ। गाईको प्रतिमाको अघिल्तर तीनवटा बायुपंखी घोडा बनाएर जडान गरिएको छ। गाईको विभिन्न अंगमा हिन्दु, इसाई, सिख, इस्लामलगायत विश्वका सबै धर्महरुको प्रतिनिधित्व गर्ने देवी देवता तथा प्रतिकको चित्र कोरिएको छ। ‘गाई सबैको लागि आमासमान भएकोले सबै धर्मका देवता तथा चिन्हलाई गाईको शरीरमा कुँदिएको हो,’ सुब्बाले भने।
रथको बीच भागमा गाईको थुनको ठिक तल आकर्षक शिव लिङ्ग बनाइएको छ। गाईको थुनबाट विभिन्न नदिको पानी मिसिएको पञ्चामृत झार्ने व्यवस्था मिलाइनेछ। सर्वसाधारणले त्यसलाई प्रसादस्वरुप ग्रहण गर्ने बताइएको छ।
नेपालको धर्ममा अतिक्रमण नरोकिएको भन्दै धर्मको रक्षा र नेपालमा हिन्दु राष्ट्र पुनः बहाली गर्नका लागि देशभरी जनमत सृजना गर्ने भन्दै मेची महाकाली धार्मिक जागरण रथयात्रा गर्न लागेको सुब्बाले बताए। रथयात्राले तराईका २२ र पहाडमा ८ जिल्लालाई छुने उनले जानकारी दिए। यात्राअन्तर्गत झापाको मेची नदि किनार, मोरंगको उर्लाबारी, सुनसरीको इटहरी, सप्तरीको रुपनगर तथा सिरहाको गोलबजारमा प्रत्येक जिल्लाका मुख्य स्थानमा धार्मिक जागरणसभा गर्ने र सभालाई अध्यक्ष थापा सहितका नेताहरुले सम्बोधन गर्ने सुब्बाले बताए।