उर्जामन्त्री राधा ज्ञवालीले जल माफियाको प्रलोभनमा परेर तनुहँको सेती विद्युत परियोजना स्थगित गरेको भन्दै तनहुँका सभासदहरुले उनको राजीनामा मागेका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सभासदहरुले तनुहँ हाइड्रोपावर कायर्यन्वयनको वारेमा आयोजना सुपरीवेक्षण परामर्शदाता छनौट गर्ने प्रक्रिया शुरु भैरहेको सन्दर्भमा एकाएक मन्त्री ज्ञवालीले बदनियतपूर्ण एवम षडयन्त्रकारी ढंगले परियोजना स्थगगित गरेको भन्दै तत्काल राजिनामाको माग गरेका हुन्।
सभासद ध्रुव वाग्लेले मन्त्री ज्ञावालीले उक्त निर्णय तत्काल फिर्ता नगरे उनलाई प्रधानमन्त्रीले हस्तक्षेप गरेर भएपनि बर्खास्ती गर्नुपर्ने माग गरेका छन्। वाग्लेले मन्त्रीको निर्णयले नेपाल राष्ट्र र तनहुँका सम्पूर्ण जनतामाथि विश्वासघात भएको आरोप लगाए।
उनले भने–'अख्तियारले समेत परियोजना सुरु गर्न निर्देशन दिएको अवस्थामा एकाएक मन्त्रीले यसको हत्या गर्नुभएकोछ, यो निर्णय तत्काल नसच्याईए त्यसको विरुद्धमा हामी कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछौं।'
सभासद शंकर भण्डारीले उर्जा मन्त्रालयको स्वार्थसिद्ध नहुने देखेपछि मन्त्री ज्ञवालीले एकल निर्णय गरी आफ्नै मन्त्रालयका सहसचिवको संयोजकत्वमा छानबिन समिति बनाएर उक्त परियोजनालाई छनौट भएको परामर्शदाताको सेडिमेन्टेसन र फ्ल्सिङ्गमा कम अनुभव रहेको विषयलाई आधार मानेर छनौट प्रक्रिया निश्प्रभावी बनाउन खोजेको आरोप लगाए।
भण्डारीले मन्त्री ज्ञावलीको भ्रष्ट प्रवृत्तिले गर्दा उक्त परियोजना तुहिने अवस्थामा पुगेको भन्दै तत्काल निर्णय फिर्ता नलिए प्रधानमन्त्रीले उनलाई गलहत्याएर हटाउनुपर्ने बताए।
त्यस्तै अर्का सभासद जनकराज जोशीले पनि उर्जामन्त्रीको निर्णयले एशियाली विकास बैंक पनि झस्केको उल्लेख गर्दै मन्त्रीको निर्णयसँग एडिबी सहमत हुन नसक्ने र पूनः टेण्डरमा जाने सम्भावना पनि न्यून रहेको दाबी गर्दै उक्त परियोजना रद्द भए सोको जिम्मा मन्त्रीले लिनुपर्ने चेतावनी दिए।
तनहुँका सभासदहरु शंकर भण्डारी, ध्रुव वाग्ले, जनकराज जोशी, रामचन्द्र पोखरेल, झूल बहादुर आले, आशा कोइराला र शिवलाल थापाले संयूक्त हस्ताक्षर गरेको विज्ञप्ती समेत जारी गरेका थिए।
१ सय ४० मेगावाट क्षमता रहेको उक्त परियोजनाको लागत करिब ५० अर्ब रुपैयाँ बराबर रहेको छ।