हलिउडको प्रतिष्ठित सोनी पिक्चर्सले आक्रमणको धम्कीपछि सिनेमा द इन्टरभ्यू प्रर्दशन तत्कालका लागि रोक्यो। घटनाले संसारभरका मिडियामा स्थान पायो। अमेरिकी गुप्तचर संस्था एफबिइआईले बताएअनुसार धम्की दिने समूहलाई उत्तर कोरिया सरकारको सहयोग छ। सो ह्याकर समूहले यसअघि सोनी पिक्चर्सका गोप्य इमेलहरु ह्याक गरेर सार्वजनिक गरिसकेको छ।
फिल्मको प्रर्दशन रोकिएपछि अमेरिकाको गुप्तचर संस्था एफबिआई, विदेशमन्त्री जोन केरी र राष्ट्रपति ओबामाले पनि घटनाप्रति सार्वजनिक रुपमा चासो देखाएका छन्।
फिल्मको प्रर्दशन रोकिएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले डरले प्रर्दशन रोकेर सोनी पिक्चर्स गल्ती गरेको बताए। 'हामी त्यस्तो समाजका सदस्य होइनौ जसलाई कुनै तानाशाह कुनै कुनाबाट अमेरिकामा सेन्सर लगाउन सकोस' ओबामाले भने 'यदि कसैले हामीलाई ब्यंग्यात्मक चलचित्र प्रर्दशन गर्न रोक लगाउन सके भने डकुमेन्ट्री र समाचारहरु सार्वजनिक गर्न तिनले के गर्लान' ओबामाले शुक्रवार पत्रकार सम्मेलनमा भने। 'अमेरिकामा त्यस्तो हुन सक्दैन' ओबामाले थपे।
ओबामाले फिल्म प्रर्दशन रोक्नु गलत निर्णय भनेको प्रति सोनी पिक्चर्सका सिइओ मिसाइल लिन्टोनले आपत्ति जनाएका छन। उनले कम्पनीले फिल्मको प्रर्दशन रोक्नु ओबामाले भने जस्तो गल्ति नभएको सिएनएनलाई बताए। धम्की कारण डराएरमात्र नभई हलहरुले फिल्म नचलाउने भनेपछि फिल्मको प्रर्दशन रोकिएको उनले बताए। उपयुक्त समयमा अमेरिकी जनतालाई फिल्म देखाउने पनि उनले जनाए।
उत्तर कोरियाका नेता किम जोङ उनलाई मारिएको कथा भएको फिल्मको ट्रेलर सार्वजनिक भएदेखि नै विवादित बनेको थियो। 'गार्जियन अफ पिस' नामक ह्याकर समूहले फिल्म प्रर्दशन गरिए अमेरिकामा आक्रमण गर्ने धम्की दिएको थियो। उत्तर कोरियाले भने यस घटनामा आधिकारिक धारणा सार्वजनिक गरेको छैन।