आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले आज माइतीघरदेखि नयाँबानेश्वरसम्म मार्चपास प्रदर्शन गरेको छ।
राष्ट्रियता र राष्ट्रिय स्वाधीनता रक्षा, एकल जातीय पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान निर्माण, समानुपातिक निर्वाचन प्रणालीको सुनिश्चितता तथा लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षतालाई संस्थागत गर्न मार्चपासको आयोजना गरिएको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका संयोजक पद्मरत्न तुलाधरले बताए।
उनले प्राकृतिक स्रोत र साधनमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न, राज्यका सबै अङ्ग र तहमा आदिवासी जनजातिलगायत उपेक्षित, उत्पीडित, वर्ग, लिङ्ग, क्षेत्र र समुदायको जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चितका लागि सम्झौताबिहीन आन्दोलनको सुरुवात गरिएको पनि बताए।
मार्चपासमा विभिन्न जनजातिका नेता, सङ्घसंस्थाका प्रतिनिधि, सर्वसाधारणले आ–आफ्नो समुदायका झन्डा बोकी धर्म निरपेक्षता कार्यान्वयन गर, सम्पूर्ण पहिचानवादी एक हौँ भन्दै नारा लगाएका थिए।
माइतीघरबाट सुरु भएको मार्चपास नयाँबानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो। रासस