कास्कीमा क्रियाशील विद्यार्थी संगठनहरुले आफ्नो सहकर्र्मीको गिरफ्तारीको विरोध, अवैध शैक्षिक संस्था खारेजी र विद्यार्थीमाथि लगाइएका झुट्टा आरोप फिर्ताको माग गर्दै शैक्षिक हड्तालको घोषणा गरेका छन्।
विद्यार्थी संगठनहरुले गरेको शैक्षिक हड्तालका कारण आज पोखराका सवै विद्यालय ठप्प भए। विद्यार्थीहरु विद्यालय पुगेपनि विद्यार्थी संगठनहरुले पठनपाठन गर्न नदिएपछि फर्किएका थिए। विद्यार्थी संगठनले अवैध रुपमा सञ्चालन गरिएका नीजि विद्यालय, होस्टल, इन्स्टिच्युट, मन्टेश्वरी लगायतका संस्थाहरु खारेजीको माग गर्दै जिल्ला शिक्षा कार्यालयमा तीन महिना अघि ज्ञापनपत्र पेश गरेका थिए।
जिल्ला शिक्षा कार्यालय, जिल्ला शिक्षा समिति, जिल्ला प्रशासन कार्यालय, विद्यार्थी संगठन, प्याप्सन, एनप्याप्सन, अभिभावक संघ, शिक्षक संघ/संगठनलगायत सरोकारवाला बीच भएको छलफलमा कार्तिक १५ भित्र अवैध संस्था बन्द गर्ने निर्णय भएको थियो। निर्धारित म्यादको एक महिना बितिसक्दा पनि सम्बन्धित पक्षले सहमतिमा ध्यान नदिएको भन्दै विद्यार्थी संगठनहरुले बिहीबार जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका थिए।
धर्नाको क्रममा कार्यालयका प्रतिनिधि र विद्यार्थी नेताहरुबीच सामान्य भनाभन भएपछि अखिल क्रान्तिकारीका नेता नेत्र चापागाइँ लगायतका विद्यार्थीहरुलाई गिरफ्तार गरेको थियो। गिरफ्तारीको बिरोधमा बिहीबार साँझ संयुक्त विद्यार्थी आन्दोलनका प्रतिनिधिहरुले एक विज्ञप्ति जारी गर्दै गिरफ्तार गरिएका विद्यार्थी नेताको विनाशर्त रिहाई, अवैध शैक्षिक संस्थाहरुको खारेजी र विद्यार्थीहरुमाथि लगाइएका आरोपहरुको आत्मालोचनाका लागि २४ घण्टे अल्टिमेटम दिएका छन।
त्यस्तै शिक्षा कार्यालयको बा२झ १००९ नम्बरको जिपमा विहिवार साँझ हेल्मेट लगाएर आएका तिन जनाले आगो लगाएर भागेका थिए। शुक्रबार पोखराको न्यरोडमा रहेको नोबेल एकेडेमीमा विद्यार्थीहरुले तोड्फोड गरेका छन्। बन्दको बेला खोलेको भन्दै नोबेल एकेडेमीको लेखाशाखाको दुई वटा कम्पयुटर आगो लगाएका छन् भने सिसाहरु तोडफोड गरेको कास्की प्रहरीले जनाएको छ।